राष्ट्रपति र प्रधानमन्त्रीको संस्कार र व्यवहार गणतन्त्र अनुकुल बन्न सकेन ; सभापति देउवा

१५ जेष्ठ २०७८, शनिबार १३:५७

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको राष्ट्रपति र प्रधानमन्त्रीको संस्कार र व्यवहार गणतन्त्र अनुकुल बन्न नसकेको आरोप लगाएका छन् ।गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै सभापति देउवाले वर्तमा राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार व्यवहार गणतन्त्र अनुकुल बन्न नसक्दा त्यसको दुश्परिणाम मुलुकले भोगिरहेको टिप्पणी गरेका छन् ।

उनले शुभकामना सन्देशमा भनेका छन्,“कुनै पनि राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुन्छ । लोकतान्त्रिक गणतन्त्रको सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समिक्षाको बिषय बन्दछ र बन्नु पर्दछ ।

देशको राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदनुकूलको बन्न नसक्दा त्यसको दुश्परिणाम देशले भोग्नुपर्ने हुन्छ र आज हामी त्यो भोगिरहेका छौं ।”यसप्रति गम्भीरता राख्न र यो चुनौती पार गरेर अघि बढ्ने संकल्प गर्न सभापति देउवाले सबैमा अपिल गरेका छन् ।

नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकास गरेर मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न यो गणतन्त्र दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्ने सभापति देउवाको विश्वास छ ।