नवलपरासीको दाउन्नेमा बस पहाडबाट खस्यो, ४ को मृत्यु ४९ घाईते

५ जेष्ठ २०७८, बुधबार ०९:३५

परासी । काठमाण्डौंबाट रुकुम पश्चिम यात्रु लिएर जाँदै गरेको ना ५ ख २७१३ नम्बरको बस पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकास्थित दाउन्ने पहाडको खुर्सानी खोलामा आज बिहान ७ बजे खस्दा दुर्घटना भएको हो ।दुर्घटनामा परी २ महिला र २ पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक अजय केसीले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा रुकुम पश्चिम त्रिवेणी गाउँपालिका– ६ की २७ वर्षीया कल्पना पुन र सोही जिल्ला सिस्ने गाउँपालिका–४ का ३६ वर्षिय धनराज घर्ती रहेका छन् । अन्य २ को सनाखत हुन सकेको छैन ।बस पहाडबाट १ सय ५० मिटर तल खसेको हो । एकजना बसमै च्यापिएको अवस्थामा रहेकाले क्रेन बोलाएर निकाल्ने प्रयास भईरहेको छ ।

बसलाई रुखले अड्काएका कारण मानवीय क्षति बढी हुन नपाएको प्रहरीले जनाएको छ ।घाईते सबैको अहिले चिसापानी अस्पताल बर्दघाटमा उपचारका लागि पठाईएको छ । केही गंभिर छन् ।सबैलाई तत्काल अस्पताल पठाइएकाले कति गंभिर छन् भन्ने बारे केही समयमा जानकारी हुने प्रहरी उपरीक्षक केसीले बताउनुभयो ।काठमाण्डौंमा अलपत्र परेका रुकुम पश्चिमका स्थानीयलाई लिएर बस त्यसतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ । बसमा ५८ जना यात्रु थिए ।