भारतमा कोरोना संक्रमण दर ओरालो लाग्दै

२ जेष्ठ २०७८, आईतवार ११:४९

भारतमा अघिल्लो हप्ताको तुलनामा यो हप्ता कोरोना संक्रमण दर घटेको छ । यसले भारतमा कोरोनाको दोस्रो लहर उच्चतम विन्दुमा पुगेर विस्तारै ओरालो लाग्न थालेको संकेत गरेको छ । पछिल्लो एक साताको अवस्थालाई हेर्दा दैनिक संक्रमितसँगै परीक्षण गरिएकामा कोरोना पोजेटिभ देखिने दर पनि घटेको छ । मे ८ देखि १४ सम्ममा भारतमा परीक्षण गरिएकामध्ये १९ दशमलव ५ प्रतिशतलाई कोरोना देखिएको छ ।

जबकी अघिल्लो साता त्यो दर २२ दशमलब ४ प्रतिशत थियो । मे ८ मा भारतभरि ३ लाख ९१ हजार नयाँ कोरोना संक्रमित थपिएका थिए भने हिजो त्यो संख्या ३ लाख ५४ हजारमा झरेको छ । संक्रमितहरुको मृत्युदर भने अहिले पनि दैनिक चार हजारको हाराहारीमा चलिरहेको छ । भारतमा अहिलेसम्म २ करोड ४६ लाख मानिसमा कोरोना संक्रमण भएको छ । तीमध्ये २ लाख ७० हजारले ज्यान गुमाएका छन् भने ३६ लाख अहिले सक्रिय संक्रमित छन् ।