देउवा निवासमा कांग्रेस हाइकमान्डको बैठक , के होला निर्णय ?

३० बैशाख २०७८, बिहीबार १७:११

काठमाडौं । वैकल्पिक सरकारबारे ठोस् निर्णय लिन नेपाली कांग्रेसका पदाधिकारी तथा नेताहरूको बैठक अहिले बूढानीलकण्ठमा बसेको छ।

शभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकमा वैकल्पिक सरकार निर्माणका लागि भइरहेको तयारी र यसको संभावनाबारे देउवाले ब्रिफिङ गर्नेछन्। प्रधानमन्‍त्री केपी ओलीले विश्‍वासको मत लिन असफल भएपछि राष्ट्रपतिले बहुमतीय सरकार गठनका लागि दिएको  समयसीमा बिहीबार राति नौ बजे सकिँदैछ।

त्यसअघि नै बैकल्पिक सरकार बन्‍ने आधारसहित राष्ट्रपतिलाई लेखी पठाउने तयारीमा कांग्रेस माओवादी छन्। तर त्यसका लागि सिंगो जसपाले समर्थन गर्नुपर्छ कि त माधव पक्षका सांसदहरूले राजीनामा दिएर संसद्को संख्या घटाउनुपर्छ।

देउवाले पदाधिकारी बैठक बोलाउनुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपाका अध्यक्ष महन्थ ठाकूर र एमालेका माधव नेपाललगायतका नेताहरूसँग परामर्श गरेका थिए। माधव नेपाल पक्षले अहिलेसम्म राजीनामा नदिएकोले बैकल्पिक सरकारको संभावना कठिन हुँदै गएको देखिन्छ। सिंगो जसपाको समर्थन लिने प्रयासलाई रोक्‍न सरकारी पक्षको व्यवस्थापनमा महन्थले आफ्नो सांसदहरूलाई भक्तपुरको रिसोर्टमा लगेर राखेका छन्।