प्रधानमन्त्री ओली र नेता नेपालबीच सहमतिको प्रयास, वार्ता शुरु

३० बैशाख २०७८, बिहीबार १४:५३

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच वार्ता शुरुभएको छ । पार्टीभित्रको असहमति अन्त्य गर्ने प्रयास स्वरुप एक उद्योगीको निवासमा वार्ता शुरुभएको बालुवाटार स्रोतले जनाएको छ ।

नेता नेपाल बालुवाटार आउन तयार नहुनुभएपछि उद्योगी रामेश्वर थापाको निवासमा गोप्य वार्ता भइरहेको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईकाअनुसार वार्ता गोप्य ढङ्गले भइरहेकाले केही सहमति हुने विश्वास गरिएको बताउनुभयो ।

भर्खर शुरुभएको वार्तामा अन्य सहयोगी नेताहरु सहभागी रहेको बारे केही जानकारी गराइएको छैन । नेता नेपाल पक्षका नेताहरुले आज साँझसम्म राजीनामा दिने चेतावनी दिइरहेका बेला अध्यक्ष ओली र नेता नेपालबीच निर्णायक वार्ता शुरुभएको हो । यसअघि अध्यक्ष ओली र नेपालबीच टेलिफोन वार्ता पनि भएको थियो । सो वार्तामा नेता नेपालले २०७५ जेठ २ गतेको समयमा फर्किन तयार भए सहमति हुने संकेत गर्नुभएको उहाँ निकट नेताहरुले बताउनुभएको छ ।