नेता पुनको आक्रोश,‘स्वास्थ्य मन्त्रालयलाई मरेका र संक्रमितको आँकडा दिनमै पुर्सद छैन’

२९ बैशाख २०७८, बुधबार २१:३३

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व मन्त्री वर्षमान पुनले कोरोना संक्रमण नियन्त्रणमा सरकारले गैरजिम्मेवारीपन देखाएको भन्दै आलोचना गरेका छन् ।हिजो रोल्पाबाट हवाई उद्धार गरिएका कोरोना संक्रमितको उपचारका लागि हारगुहार गर्नुपरेको भन्दै नेता पुनले आक्रोश व्यक्त गरेका हुन् ।उनले भनेका छन्, “हिजो रोल्पाबाट हवाइ उद्धार गरिएका श्यामबहादुर बुढालाई धेरै हारगुहार पछि आईसीयूमा भर्ना गरियो । जुनसुकै अस्पतालमा जाँदा पनि एउटै जवाफ छ,अक्सिजन छैन ।”

सरकारले आफ्नो सम्पूर्ण प्रयत्न अक्सिजनको उत्पादन,बितरण र समन्वयमा लगाउन अति आवश्यक भैसकेको नेता पुनको भनाई छ ।सामाजिक सञ्जाल फेसबुकमा उनले भनेका छन्,“राजधानीमा रहेका ठूलठूला अस्पतालले अक्सिजनका कारणले बिरामी लिन नसक्ने घोषणा गरेका छन्,त्यति मात्र होइन उपचारत बिरामी पनि राख्न नसक्ने बताइरहेका छन् र कति डरलाग्दो अवस्था छ ? प्रधानमन्त्री स्थिति नियन्त्रणमा छ,भनिरहेका छन् र स्वास्थ्य मन्त्री कमिसनको कुरा गरिरहेका छन् ।”

उनले स्वास्थ्य मन्त्रालयलाई अस्पतालमा उपचार क्षमता बाँकी रहेको बताउँदै मरेका र सङ्क्रमितको आँकडा दिनमा फुर्सद नभएको टिप्पणी गरेका छन् । उनले भनेका छन्,“स्वास्थ्य मन्त्रालयलाई अस्पतालमा उपचार क्षमता बाँकी रहेको बताउँदै मरेका र सङ्क्रमितको आँकडा दिनमा फुर्सद छैन ।”

उनले यस्तो अवस्थामा सरकारको भरोसा मात्र भन्दा पनि राजनीतिक दल,भगिनी संगठन,निजी क्षेत्र,संघ–संगठन,बिदेशमा रहेका नेपाली सबैले कोरोना सङ्कटसँग जुध्न हामी सबै आ–आफ्नो ढंगले क्रियाशील बन्न अपिल समेत गरेका छन् ।