अक्सिजनको अभावमा संक्रमितको मृत्यु बढ्यो

२९ बैशाख २०७८, बुधबार १२:४५

काठमाडौं । नेपालमा कोरोना महामारीको महासंकटका बीच अक्सिजन अभावमा कोरोना संक्रमितको मृत्यु हुने क्रम बढ्न थालेको छ । अक्सिजन नपाउंदा कति विरामी छटपटाइ रहेका छन् । अहिले अक्सिजनको माग उत्पादन भन्दा दोब्बर पुगेको छ । सङ्क्रमितको उपचारका लागि दैनिक १५ हजार सिलिण्डर आवश्यक पर्ने भएपनि नौ वटा अक्सिजन प्लान्टले सात हजार २०० सिलिण्डर उत्पादन गरिरहेका छन् ।

अहिले कोरोनाको दोस्रो लहर निकै सङ्क्रामक देखिएकोले धेरै बिरामीलाई हाइफ्लो अक्सिजन चाहिएको छ । एउटा बिरामीलाई दैनिक पाँच वटासम्म सिलिण्डर चाहिएको चिकित्सकहरु बताउंछन् । यसलै पनि वैकल्पिक विधिबाट अक्सिजन उत्पादन बढाउन सकेमात्र अहिलेको आवश्यकता पूरा गर्न सकिने बताइएको छ । उत्पादन बढाउन सरकारले तुरुन्तै नेपाल आयल निगम र कान्तिपुर अक्सिजन प्लान्ट मर्मत गरेर सञ्चालनको तयारी गरेको जनाएको छ ।

उपत्यकामा अभाव कम गर्न पोखरा, चितवन र वाराबाट अक्सिजन ल्याइएको बताइएको छ । लिक्विड अक्सिजन प्लान्टहरु अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा सञ्चालनमा छन् । सिसिएमसीले अस्पतालका बिरामीलाई अक्सिजन पु¥याउन आवश्यकताका आधारमा न्यूनतम कोटा निर्धारण गरेको छ । अक्सिजन उत्पादक संघले भने तत्काल बैकल्पिक उपायबाट अक्सिजनको आपुर्ति सहज बनाउन भनिसकेको छ ।

अस्पतालका लागि मात्रै ग्यास उपलब्ध गराउने सरकारको निर्णय व्यवहारिक नभएको भन्दै संघले दीर्घरोगी र घरमै उपचार गराईरहेका संक्रमितका लागि पनि अक्सिजनको व्यवस्था गर्न माग गरेको छ । उनीहरुका लागि अक्सिजनको व्यवस्थापन गर्न नसक्ने हो भने नागरिकस्तरबाट आउने दबाब धान्न नसक्ने संघले जनाएको छ ।.