भयावह बन्दै कोरोना प्रत्येक घण्टा ९ जनाको मृत्यु

२८ बैशाख २०७८, मंगलवार २२:०६

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको यो तथ्यांक अनुसार अहिले नेपालमा हरेक घण्टा कोरोनाकै कारण ९ जनाको मृत्यु हुन्छ। संक्रमण र मृत्युको संख्या तीव्र रुपमा बढ्दा अस्पतालहरुले बेड अभावमा बिरामीको भर्ना लिनै छोडेका छन्।

संक्रमण र यसले मृत्यु हुनेको संख्या बढ्दा स्वास्थ्य प्रणाली नै ध्वस्त भएको चिकित्सकले बताउन थालेका छन्। गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले मंगलबार एक कार्यक्रममा बोल्दै नेपालको ‘हेल्थ सिस्टम नै कोल्याब्स’ भएको बताएका छन्।

काठमाडौं महानगरपालिकाले जिल्लाका डेडिकेटेड कोभिड अस्पतालका प्रमुखसँगको छलफलमा बोल्दै डा. अधिकारीले यस्तो बताएका हुन्। उनले यसको नियन्त्रणका लागि स्वास्थ्य नीति नै परिवर्तन गर्न सुझावसमेत दिएका छन्।

डा. अधिकारीको यो भनाइले कोरोना संक्रमण भयावह बन्दै गएको र यसको नियन्त्रणका लागि सरकार गम्भीर बन्नुपर्ने र सबै आम सर्वसाधारण सचेत हुनुपर्ने देखिएको छ। दैनिक मन्त्रालयले संक्रमित, मृतक र संक्रमणको तीव्र वृद्धिका विवरण सार्वजनिक गर्दै गर्दा आम मानिसमा त्रास बढ्न थलेको छ। तर, घरभित्रै बस्ने र बाहिर निस्कनै पर्दा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन सके संक्रमणबाट आफैं बच्न सकिन्छ। महामारी बढ्दै गर्दा अरुलाई दोष दिनुभन्दा पनि आफैं सचेत हुनुपर्ने अवस्था आएको छ।

२४ घण्टामा २२५ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ४ हजार ४ सय ८४ पुगेको छ। मन्त्रालयका अनुसार मंगलबार थप ९ हजार ४ सय ८३ जना संक्रमित थपिएका छन्। २ हजार ५ सय ९६ जनाको पीसीआर र ७ सय २० जनाको एन्टिजेन परीक्षण गर्दा ९ हजार ४ सय ८३ मा संक्रमण पुष्टि भएको हो।

दैनिक संक्रमण बढ्दै गर्दा नेपालमा सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ।  पछिल्लो २४ घण्टामा ५ हजार २ सय २५ जनाले कोरोना जितेका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या तीन लाख १२ हजार १९ पुगेको छ।

मन्त्रालयका अनुसार मंगलबार मात्र उपत्यकाका तीन जिल्लामा ३ हजार ९२७ जनामा संक्रमण पुष्टि भएको  छ। काठमाडौंमा २ हजार ७८८, भक्तपुरमा ५ सय ३७ र ललितपुरमा ६ सय २ जनामा संक्रमण पुष्टि भएको हो।