नेपाल सुपर लिग काठमाडौंलाई २-१ ले पराजित गर्दै धनगढी फाइनलमा

२८ बैशाख २०७८, मंगलवार २१:१०

काठमाडौं ।  काठमाडौं रेजर्सलाई पराजित गर्दै धनगढी एफसी पहिलो संस्करणको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा पुगेको छ। दशरथ रंगशालामा भएको पहिलो प्लेअफमा मंगलबार काठमाडौं रेजर्सलाई २-१ गोल अन्तरले पराजित गर्दै धनगढीले फाइनल यात्रा तय गरेको हो। धनगढीको जितका लागि पुजन उपरकोटी र विशाल राईले एकएक गोल गरे। काठमाडौंका लागि तेज तामाङले एक गोल फर्काए।

पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलको ७५ औं मिनेटमा तेज तामाङले गोल गोल गर्दै काठमाडौंलाई सुरुवाती अग्रता दिलाएका थिए। काठमाडौंको अग्रतालाई ७८ औं मिनेटमै पुजनले बराबरीमा फर्काएका हुन्। निर्धारित ९० मिनेटसम्म १-१ को बराबरी खेलेको काठमाडौं खेलको अतिरिक्त समयमा पराजित भएको हो। खेलको १०८ औं मिनेटमा विशाल राईले गोल गर्दै धनगढीलाई फाइनलमा पुर्याए। उनलाई गोलका लागि रमेश दंगालले पास दिएका थिए।

मंगलबारको खेलमा पराजित भएको काठमाडौले फाइनल प्रवेशका लागि अब इलिमिनेटर खेल्नेछ। काठमाडौंले ललितपुर सिटी र बुटवल लुम्बिनीबीचको विजेतासँग खेल्नु पर्नेछ। दोस्रो प्लेअफ अन्तर्गत बुधबार ललितपुर र बुटवल खेल्दैछन्।