राष्ट्रपतिले दिएको समय भित्रै आफ्नो नेतृत्वमा सरकार बनाउने दावी कांग्रेस

२८ बैशाख २०७८, मंगलवार २१:०२

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिले दिएको समय अवधिभित्रै आफ्नो नेतृत्वमा सरकार बनाउने दावी गरेको छ ।कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको वैठकले माओवादी केन्द्र, जसपा र एमालेको असन्तुष्ट पक्षसंग मिलेर नयाँ सरकार बनाउने निर्णय गरेको हो ।

बैठकपछि कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले एमालेको माधव पक्षको सहयोग जुटाउने कोसिस भइरहेको र जसपालाई पनि एकजुट बनाएर नयाँ सरकार बनाउने अभियानमा सामेल गराउने प्रयास भइरहेको जानकारी दिनुभयो ।

यसबीचमा सभापति देउवासँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गरको छन् । भेटमा माओवादीले कांग्रेस नेतृत्वमा सरकार बनाउन समर्थन जनाएको र उपेन्द्र यादव समेत सहमत भइसकेको महतले बताउनुभयो ।

प्रधानमन्त्री केपी ओलीले संसदमा विश्वासको मत लिन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम वैशाख ३० गतेभित्र नयाँ सरकारको दाबी गर्न समय दिनुभएको छ ।