
काठमाडौं । नेकपा (एमाले) भित्र देखिएको आन्तरिक विवाद समाधानका लागि नेताहरुको दौडधुप तीव्र बनेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले २७ गते विश्वासको मत लिने निर्णय गरेसँगै अहिले दोस्रो तहका नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् ।प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिनुका साथै उपनिर्वाचनमा नेपाल समूहले विनासर्त सहयोग गर्नुपर्ने अडान राख्दै आउनुभएको छ ।
तर, नेपाल समूहले भने पार्टीलाई २ जेठ २०७५ को अवस्थामा फर्काएर नयाँ ढंगले अघि बढनुपर्ने अडान राख्दै आएको छ । एमाले धेरै नै अघि बढिसकेकाले फर्किन नसक्ने अडान ओलीको छ ।शीर्षनेताको अडानबीच पार्टी एकता कायम राख्दै अघि बढ्ने विषयमा दोस्रो तहका नेता आन्तरिक छलफलमा जुटेका छन् ।
हिजो ओली समूह नेता ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, विष्णु रिमाल र नेपाल समूहबाट सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, योगेश भट्टराई, गोकर्ण विष्टबीच छलफल भएको छ ।यता, नेपाल समूहका २० सांसदले मात्रै राजीनामाको तयारी भएको बताइएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनिसकेपछि उपनिर्वाचन गरेर ती ठाउँमा पुनः नेपाल समूहकै नेतालाई कांग्रेस, माओवादी र जसपाले साझा उम्मेदवार बनाएर विजयी गराउने रणनीति बूढानीलकण्ठमा बनेको बताइन्छ ।ओली आफ्नो अडानबाट पछि नहटे नेपाल समूहले नयाँ दल दर्ता गराउनेछन् । सोहीमार्फत नेपाल समूह उपनिर्वाचनमा महागठबन्धन बनाएर होमिनेछ ।
राष्ट्रिय सभा उपनिर्वाचनजस्तै ओलीविरुद्ध अन्य दल एकजुट भएर अघि बढ्ने योजनामा सबै सहमत रहेको स्रोतको दाबी छ ।
