काठमाडौंमा निषेधाज्ञा लम्ब्याइयो, सञ्चारकर्मीलाई सूचना विभागको कार्ड अनिवार्य

२१ बैशाख २०७८, मंगलवार १६:०१

काठमाडौं ।  उपत्यकामा निषेधाज्ञा लम्बिएको छ । निषेधाज्ञा वैशाख २९ गतेसम्म लम्ब्याइएको हो ।मंगलबार बसेको काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको छलफलपछि निषेधाज्ञा लम्ब्याइएको काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

वैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञा बुधबार सकिँदै गर्दा एक हप्ता थपिएको हो । साथै निषेधाज्ञालाई थप व्यवस्थित र कडाइसमेत गरिएको छ । त्यसैगरी सञ्चारगृहमा बढीमा ४० प्रतिशत कर्मचारी राखेर मात्र काम गर्न भनिएको छ । साथै सूचना विभागले वितरण गर्ने पासको प्रयोग अनिवार्य गरिएको छ ।

स्थानीय प्रशासन ऐन २०२८ अनुसार परिस्थिति अनुसार प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा लगाउन सक्ने प्रावधान छ । यसैबीच ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । उहाँ अहिले आइसोलेशनमा रहनु भएको छ ।

यता देशका ४८ जिल्लामा निषेधाज्ञा जारी भएकोे छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार अहिलेसम्म ४८ जिल्लामा निषेधाज्ञा जारी भएकोमध्ये ९ जिल्लामा आंशिक र बाँकीमा पूर्ण निषेधाज्ञा जारी भएको छ ।