जनमोर्चाले सोध्यो– हाम्रो सांसदलाई अस्पतालमा बन्दीको रुपमा राख्नुको कारण के हो ?

१६ बैशाख २०७८, बिहीबार १०:२५

 

 

 

काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका आफ्ना सांसद खिमविक्रम शाहीलाई अस्पतालमा बन्दीको रुपमा राखिएको भन्दै उनको स्थिति सार्वजनिक गर्न सरकारसँग अनुरोध गरेको छ । राष्ट्रिय जनमोर्चाले मतदानको बेलामा भएको शाहीको अनुपस्थितिलाई रहस्यमय भनेको छ ।

गण्डकी प्रदेशमा अविश्वासको प्रस्तावमाथि मतदान सुरु हुने बेलामा उनी सम्पर्कविहीन भएको खबर सार्वजनिक भएको थियो । पछि उनी पोखराको चरक अस्पतालमा भर्ना भएको थाहा भएको थियो । जिम्मेवार केन्द्रीय नेता तथा सांसदहरु जाँदा पनि उनीसँग भेट गर्न नदिइएको जनमोर्चाले जनाएको छ ।

‘राष्ट्रिय जनमोर्चाका जिम्मेवार केन्द्रीय नेता तथा गण्डकी प्रदेशका सांसदहरु जाँदा पनि उहाँलाई भेट गर्न दिइएको छैन । उहाँलाई एक प्रकारको बन्दीका रुपमा किन राखियो र त्यसको कारण के हो ?’ राष्ट्रिय जनमोर्चाकी प्रवक्ता दुर्गा पौडेलले विहीबार विज्ञप्ति जारी गर्दै भनेकी छन्, ‘उहाँको स्थिति सार्वजनिक गर्नका लागि सरकारसित अनुरोध गर्दछौं ।’