तिलोत्तमामा सबै विद्यालय बन्द 

१२ बैशाख २०७८, आईतवार १४:०८
facebook sharing button

बुटवल।  रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगर भित्रका सबै विद्यालय बन्द गरेको छ। कोरोना संक्रमण बढ्दो अवस्थामा रहेको र थप जटिलता ल्याउन सक्ने भएकाले विद्यालय, कलेज, होस्टल, ट्युसन सेन्टरहरु बन्द गर्ने नगर स्तरिय कोभिड १९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीको बैठकले निर्णय गरेको हो । साथै तिलोत्तका विद्यालयमा सञ्चालित विद्यालयका परिक्षा समेत स्थगित गर्ने निर्णय भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिए। शनिवार तिलोत्तमा – १ नयाँमिल स्थित प्यारामाउण्ट बोर्डिङ स्कुलमा होस्टलमा बसेर अध्ययन गर्दै आएकी १० कक्षाकी छात्रा प्रतिमा सापकोटाको उच्च ज्वरोका कारण मृत्यु भएपछि नगरपालिका स्तरिय कोरोना संक्रमण व्यवस्थापन केन्द्रको आइतबार विहान आकस्मीक बैठक बसेको हो ।

बैठकले मृतक सापकोटाको मृत्युको बारेमा छानविन गर्न शिक्षा शाखा प्रमुख गंगाराम आचार्यको संयोजकत्वमा समिति समेत गठन गरेको छ। समितिमा नगरपालिकाको शिक्षा समिति सदस्य टंकप्रसाद पोखरेल, प्याब्सन तिलोत्तमाका अध्यक्ष डिबी थापा, अभिभावक संघ तिलोत्तमाका अध्यक्ष नारायण ज्ञवाली र नगरपालिकाका कोरोना फोकल पर्सन केशव भट्टराई सदस्य रहेका छन्।

यस्तै नगरभित्रका सबै हाटबजारहरु बन्द गर्ने, मठ मन्दिर, गुम्वा लगायतका धार्मिक स्थानहरुमा मानिसको जमघट हुनेगरी कुनै कार्यक्रम नगर्ने नगराउने, बैंक वित्तीय संस्था, सहकारी, पसल, होटल व्यवसाय सञ्चालन गर्दा मापदण्डको पूर्ण पालना गराउने निर्णय समेत तिलोत्तमा नगरपालिकाले गरेको छ। भारतबाट आएकाहरुलाई आफन्त, टोलविकास संस्थाहरुले प्रोटोकलमा राख्न सहजीकरण गर्न पनि नगरपालिकाले आग्रह गरेको छ।