माधव समूहका यी ३२ सांसद्लाई स्पष्टीकरण सोधियो, साधारण सदस्यसमेत नरहने गरी हटाइँदै !

७ बैशाख २०७८, मंगलवार १५:४८

काठमाडौं । नेकपा एमालेले नेता माधवकुमार नेपाल समूहका ३२ सांसद्लाई स्पष्टीकरण सोधेको छ । संघीय २७ र कर्णाली प्रदेशको ५ सहित ३२ सांसद्लाई स्पष्टीकरण सोधेको हो । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरण पत्रमा नेपाल समूहका सांसदहरूलाई एमालेको नाम र चिन्ह दुरुपयोग गरेर अलग पार्टी बनाउन खोजेको आरोप लगाइएको छ ।

सांसदहरूलाई अन्तिम मौका भन्दै तीन दिनभित्र चित्तबुझ्दो जवाफ नफर्काए थप कारबाही हुनसक्ने चेतावनी दिइएको छ । स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नआए बैशाख १० गते बस्ने केन्द्रीय कमिटीको बैठकले कारवाही गर्ने तयारी गरेको छ । पार्टीभित्र प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली एकलौटी चलेपछि नेता माधवकुमार नेपाल समूह कर्णाली प्रदेशबाट आक्रमक रुपमा प्रस्तुत हुन थालेको छ ।

यसअघि नै एमालेले नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी ६ महिनाका लागि कारवाही गरिसकेको छ । निलम्बनमा परिसकेका नेताहरूलाई पनि स्पस्टिकरण सोध्नुले संस्थापन पक्ष कडा तरिकाले प्रस्तुत हुन खोजेको प्रस्ट हुन्छ । ६ महिना निलम्बन गरेकाहरूलाई सोधिएको स्पस्टीकरणले साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न लागेको विश्लेषकको भनाइ छ ।