
बुटवल । लुम्बिनी प्रदेशका महाभारत र चुरे पहाडहरुमा डढेलोको प्रकोप बढेको छ । प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले दिएको तथ्याङ्क अनुसार प्रदेश शुख्खा याम सुरु भएदेखि हालसम्म प्रदेशभरका वनहरुमध्ये ३ सय ६८ स्थानका १८ हजार ५ सय ८६ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । शनिबार साँझसम्मको तथ्याङ्क अनुसार पछिल्लो चार दिनमा थप ९२ स्थानका ३ हजार २ सय ३७ हेक्टर क्षेफलमा डढेलो फैलिएको हो ।
लागेका डढेलाहरुमध्ये बर्दिया राष्ट्रिय निकुञ्जसमेत गरेर प्रदेशमा अहिले ५६ वटा डढेला सक्रिय रहेको संघीय सरकारको वन तथा वातावरण मन्त्रालयले जानकारी दिएको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको वातावरण महाशाखा प्रमुख डिलाराम पौडेलले प्रदेशभरका सबै जिल्लामा डढेलो लागेको बताए । उनका अनुसार डढेलोमा परेर हालसम्म प्रदेशमा दुई जनाको ज्यान गएको छ । गुल्मीको धुर्काट गाउँपालिका वडा नं ७ की ९ बर्षीय बालिका र पाल्पा माथागढी गाउँपालिकाका यस बयस्क पुरुषको मृत्यु भएको उनले बताए ।
तथ्याङ् अनुसार चैत १७ गतेसम्म २७६ स्थानमा १५ हजार ३४९ हेक्टरमा लागेको डढेलो गत शनिबारसम्म ३६८ स्थानमा १८ हजार ५८६ हेक्टरमा फैलिसकेको छ । चार दिनमा ९२ स्थान र ३२३७ हेक्टरले डढेलो बढेको हो । तथ्याङ्क अनुसार सबैभन्दा धेरै डढेलो अर्घाखाँचीमा लागेको छ । जिल्लाको ६८ स्थानमा ९ हजार ७ सय १५ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । त्यस्तै धेरै डढेलो लागेको जिल्लाहरु नवलपरासी, कपिलवस्तु, गुल्मी रहेका छन् ।
ठूलो संख्यामा डढेलो लाग्दा पनि त्यसलाई निभाउन आवश्यक उपकरणहरु नरहेको वातावरण महाशाखा प्रमुख पौडेलले बताए । ‘हामीसँग २० लिटर पानी अट्ने ‘जेट शुटर’हरु छन् । तर त्यतीले डढेलो निभाउन सम्भव छैन,’ उनले भने । मन्त्रालयले आफू मातहतका जिल्ला वन डिभिजन कार्यालय र सव डिभिजन कार्यालयहरुबाट तथ्याङ्क लिने गरेको छ । –
