खनाल-नेपाल पक्षले ‘संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान’ घोषणा गर्दै

२१ चैत्र २०७७, शनिबार ११:३०

काठमाडौं – नेकपा एमालेको खनाल(नेपाल पक्षले ‘संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान’ आज घोषणा गर्दैछ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको कारबाहीमा परेलगत्तै यो समूहले आज ‘संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान’ घोषणा गर्न लागेको हो । यस्तै एमालेको खनाल(नेपाल पक्षले राष्ट्रिय भेलाबाट पारित भएको ‘राजनीतिक प्रतिवेदन’ लाई कार्यकर्ता माझ लैजाने भएको छ ।

हिजो बसेको बैठकले चैत ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेलाको निष्कर्षअनुसार ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान’ लाई अगाडि बढाउने र राजनीतिक प्रतिवेदनलाई कार्यकर्ता माझ लैजाने निर्णय गरेको हो । राजनीतिक प्रतिवेदनले आजको छलफलपछि अन्तिम रुप पाउने र त्यसपछि देशभर लैजाने निर्णय भएको नेता योगेश भट्टराईले जानकारी दिएका छन्।

यो समूहले समानान्तर कमिटी विस्तारको कामलाई पनि अघि बढाएको छ । केन्द्रमा समेत छिट्टै नयाँ समानान्तर कमिटी बनाउने नेता माधव कुमार नेपालले बताइसकेका छन् । एमाले अध्यक्ष ओलीले नेताहरु माधव कुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका छन्। सोधिएको स्पष्टीकरणमा जवाफ चित्तबुझ्दो नआएको भन्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले ४ नेतालाई ६ महिनाका लागि निलम्बन गरेका हुन् ।