मंसिर ६, एजेन्सी । टर्किस क्लब बेसिक्टासले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्थान बनाएका छन् । समूह चरणको खेल अन्तर्गत मंगलबार राति एफसी पोर्टोसँग १ – १ को बराबरी खेलेपनि समूह ‘जी’ को शिर्ष स्थानमा रहदै बेसिक्टासले अन्तिम १६ मा स्थान बनाएको हो ।
बेसिक्टासको घरेलु मैदानमा भएको खेलमा सुरुवाती गोल भने पोर्टोले लिएको थियो । खेलको २९ औं मिनेटमा फ्लिपेले गोल गर्दै पोर्टोलाई सुरुवाती अग्रता दिलाए । तर, खेलको ४१ औं मिनेटमा एण्डरसन टालिस्काले गोल गर्दै बेसिक्टासलाई खेलमा फर्काएका थिए । पहिलो हाफक १ – १ को बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन् सकेन र खेल बराबरीमा सकियो ।
यो बराबरीपछि पनि समूहको शिर्ष स्थानमा रहेको बेसिक्टासले ५ खेलबाट ११ अंक जोडेर लिगको अन्तिम १६ मा स्थान पक्का गर्यो । बेसिक्टासले पहिलो पटक च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएको हो ।
समूहको दोस्रो स्थानमा रहेको पोर्टो र तेस्रो स्थानमा रहेको आरबी लेपजिङको समान ७ – ७ अंक छ । यो समूहबाट पोर्टो र लेपजिङमध्ये एक टोलीले अन्तिम १६ मा स्थान बनाउने छन् । यो समूहमा मोनाकोको २ अंक छ ।
च्याम्पियन्स लिगको अन्तिम १६ मा हालसम्म ६ टोलि पुगिसकेका छन् । हालसम्म साबिकको बिजेता रियल मड्रिड, वायर्न म्युनिख, टोटनह्याम, म्यानचेस्टर सिटि, पेरीस सेन्ट जर्मेन ९पिएसजी० र बेसिक्टासले अन्तिम १६ मा स्थान बनाएका छन् ।
