त्रिदेशीय कपको उपाधि नेपाललाई, बंगलादेश २-१ ले पराजित

१६ चैत्र २०७७, सोमबार २०:३२

काठमाडौं, । ‘त्रिदेशीय कप’ फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ ।सोमबार बेलुकी दशरथ रङ्गशालामा भएको फाइनलमा बंगलादेशलाई २/१ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।नेपालका लागि खेलको १८ औं मिनेटमा संजोग राईले तथा ४१ औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई २/० ले अग्रता दिलाएका थिए ।तर खेलको ८३ औं मिनेटमा बंगलादेशले एक गोल फर्काएको थियो ।

नेपालले ३७ वर्षपछि दशरथ रङ्गशालामा नेपालले उपाधि जित्न सफल भएको हो ।यसअघि नेपालले दशरथ रङ्गशालामा पहिलो दक्षिण एसियाली खेलकुद सागको उपाधि जितेको थियो ।यो जितसँगै नेपालले पछिल्लो अन्तर्राष्ट्रिय सात खेलमा गर्न नसकेको गोलको खडेरीसमेत पुरिएको छ ।संजोग म्यान अफ द फाइनल बन्न सफल भएका छन् । रोहित चन्द मोष्ट भ्यालुएबल खेलाडी बन्न सफल भएका छन् ।यो खेलबाटै छिरिङ्ग गुरुङ्गले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका छन् ।

कीर्गिस्तानको २३ वर्ष मुनिको टिमसमेत रहेको प्रतियोगिताको उपाधि जितेसँगै नेपालले ट्रफीसहित पाँच हजार अमेरिकी डलर जितेको छ ।बंगलादेशले तीन हजार अमेरिकी डलर जितेको छ ।विजेतालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार वितरण गर्नुभएको छ ।यसै खेलबाट नेपालका सर्वाधिक सफल कप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् ।उनले कप्तानी ब्याण्डबाटै संन्यास लिने अवसर पाएका थिए ।डिफेन्डर विराजले देशका लागि सबैभन्दा धेरै ७३ क्याप खेल्दै एक गोलसमेत गरेका थिए ।