बागलुङ झडप: मृत्यु भएकाको शव पोष्टमार्टमका लागि पठाइयो, बेपत्ता १३ सम्पर्कमा आए

१६ चैत्र २०७७, सोमबार १३:२९
बागलुङ । निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको सिमाना बल्देधुरीमा झडप हुँदा मृत्यु भएका दुई जनाको शव पोस्टमार्टमका लागि बुर्तिबाङ पठाइएको छ ।होली खेल्ने क्रममा विवाद हुँदा बडिगाड गाउँपालिका १० का युवाको कुटपिटबाट निसीखोला गाउँपालिका–७ का ३६ वर्षीय प्रकाश कुँवर र २९ वर्षीय दीपक दमाइको मृत्यु भएको थियो ।घटनाको मुचुल्का उठाई दुबै जनाको शवलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो ।

ती दुई जनाको शव गोरेटो बाटो भन्दा करिब २ सय मिटर तल फेला परेको हवारीको भनाई छ । घटनाको बारेमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।प्रहरीले घटनामा संलग्न कसैलाई पनि नियन्त्रणमा लिन सकेको छैन । अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बागलुङबाट र नजिकमा रहेका चौकीबाट पनि प्रहरीहरु खटिएको बताइएको छ ।

१३ जना सम्पर्कविहीन भएका युवाहरु राति सम्पर्कमा आएको निसीखोला गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष तेजेन्द्र विक्रम कुँवरले जानकारी दिनुभयो । ती मध्ये १० जना युवा घाइते भएको उहाँको भनाइ छ ।घाइते मध्ये ज्ञानु दमाई, मिठे दमाईसहितका युवालाई राति नै उपचारको लागि बुर्तिबाङ पठाइएको अध्यक्ष कुँवरले बताउनुभयो ।