सिके राउतलाई पक्रन गोरखापत्रमा सूचना !

१६ चैत्र २०७७, सोमबार १३:२१

काठमाडौं, । नवलपरासी जिल्ला अदालतले जनतम पार्टीका नेता सिके राउतलाई ३५ दिनभित्र अदालतमा हाजिर हुन सूचना जारी गरेको छ ।सिके राउत भनेर चिनिने डा. चन्द्रकान्त राउतलाई राज्यविरूद्धको संगठित अपराध कसूरमा हाजिर हुन सूचना जारी भएको हो ।रौतहटको महादेव गाउँपालिका वडा नम्बर २ घर भई हाल धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर ८ मा डेरा गरी बस्ने राउतलाई अदालतमा हाजिर हुन भनिएको छ ।

बाटाको म्यादबाहेक ३५ दिनभित्र आफ्नो सबूत प्रमाण लिई हाजिर हुन सूचनामा उल्लेख छ । हाजिर हुन नआएमा कानुनअनुसार हुने भनिएको छ ।सरकार नियन्त्रित छापा माध्यम गोरखापत्रले राउत पक्राउको पूर्जी सूचना जारी गरे पनि जबकी सरकार र सिके राउत दुई वर्षअघि २०७५ साल फागुन २४ गतेका दिन ११ बुँदे सहमति भई राउत खुला राजनीतिमा आइसक्नुभएको छ ।

राउतसहित उहाँका कार्यकर्तामाथि लागेको सबै मुद्दा सरकारले फिर्ता लिने सहमति बुँदा नम्बर ५ मा गरिएको थियो । तर दुई वर्षपछि अदालतले राउतलाई राज्यविरुद्धको संगठित अपराधमा पक्राउ पूर्जी जारी गरेको हो ।राउत नेतृत्वको समूह २०७५ फागुन २४ मा सरकारसँग ११ बुँदे सहमति गर्दै मूलधारको राजनीतिमा आए पनि त्यसअघि भने राज्यविरुद्धको अपराधमा मुद्दा दायर गरिएको थियो ।