मेलम्चीको पानी आजदेखि वितरण हुने

१५ चैत्र २०७७, आईतवार ११:२३

 

काठमाडौं । आइतबार आजदेखि परीक्षणका रुपमा मेलम्चीको पानीको वितरण थालिँदैछ । मेलम्ची खानेपानी आयोजनाले आजदेखि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को वितरण प्रणालीमा मेलम्चीको पानी पठाउन थाल्ने छ ।

केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईका अनुसार आइतबार ४ करोड लिटर मेलम्चीको पानी वितरण लाइनमा थप हुनेछ । आइतबार नै खुमलटालको नयाँ पानी ट्यांकीको परीक्षण गरिनेछ । बाँकी क्षेत्रमा भने पुरानै पानी ट्यांकीमार्फत पानी वितरण हुनेछ ।अहिले पानी ट्यांकीहरु भर्ने काम भइरहेको छ । पुरानो प्रणालीमा ४ करोड लिटर मात्रै पानी थपिने भएकाले सबैजसो क्षत्रेमा समानुपातिक रुपमा नै पानी वितरण हुने राईले बताए ।

 

आइतबारदेखि अनामनगर क्षेत्रका १६ सय धारामा भने नयाँ वितरण लाइनमार्फत पानी वितरण गरिनेछ । सो क्षेत्रमा २४ घण्टा नै पानी दिएर लाइनको अवस्था जाँच गरिनेछ ।

सुन्दरीजलको पानी प्रशोधन केन्द्रको परीक्षण गर्दै प्रशोधित पानी वितरण प्रणालीमा पठाउन थालिएको हो । चैत १५ देखि २७ गतेसम्म दैनिक ८ करोड लिटर र चैत २७ पछि १७ करोड लिटर पानी काठमाडौंमा वितरण गर्ने तालिका यसअघि नै तय भएको थियो ।

तालिकाअनुसार आयोजनाले चैत २७ देखि असार २६ गतेसम्म दैनिक १७ करोड लिटर पानी प्रणालीमा पठाएर परीक्षण गर्नेछ ।

यसो गर्दा पानी प्रशोधन केन्द्रको परीक्षण पनि हुनेछ । अहिलेसम्म सुख्खा माैसममा काठमाडौं उपत्यकामा दैनिक ६ करोड लिटर मात्र पानी वितरण हुँदै आएको छ । आजबाट थप ४ करोड लिटर पानी वितरण लाइनमा आउनेछ ।

नयाँ पाइपलाइनको परीक्षण नसकिन्जेल पुरानै प्रणालीबाट मेलम्चीको पानी वितरण हुनेछ । असारमा भने पानीको वितरण बन्द गरेर सुरूङको अवस्था जाँच गर्ने तालिका छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)का अनुसार मेलम्चीको पानी विरण गर्न नयाँ वितरण सञ्जाल लगभग तयार छ । पहिलो चरणमा काठमाडौंमा १ हजार १०० किलोमिटर पाइप बिछ्याइएको छ । त्यसमध्ये अब ८-१० किलोमिटर मात्रै पाइप बिछ्याउन बाँकी छ ।

अहिलेसम्म २०० किलोमिटर क्षेत्रमा बिछ्याइएको नयाँ वितरण लाइनको पाइपको परीक्षण सकेर १५ हजार वटा मिटर जडानको काम पनि सकिएको पीआईडीका निर्देशक कमलकुमार श्रेष्ठले जानकारी दिए ।

९ वटा नयाँ पानी ट्यांकी र पाइपलाइनको परीक्षण गर्दै मिटर जोड्ने काम अब तीव्र पारिने उनको भनाइ छ । प्रतिमहिना ५० किलोमिटर पाइपलाइनको परीक्षण सकाउने योजना छ । त्यसका लागि मेलम्चीबाट आउने दैनिक १७ करोड लिटर पानीको १० प्रतिशत हिस्सा परीक्षणमा खर्च हुनेछ । परीक्षण गर्दा पाइपमा जमेका फोहोरहरु पनि बाहिर निस्कने गरी ‘फ्लसिङ’ गर्नुपर्छ । नयाँ वितरण लाइनको परीक्षण सकेर पूर्ण रुपमा केयूकेएलले पानी वितरण गरिरहेको पुरानो लाइन विस्थापन गर्न एक वर्षभन्दा बढी समय लाग्ने अनुमान छ ।