भारतबाट आउनेले बर्दियामा १० दिन होम क्वारेन्टाइन बस्नुपर्ने

१३ चैत्र २०७७, शुक्रबार १९:०४

 

बर्दिया । भारतको मुम्बईलगायतका ठाउँबाट स्वदेश फर्किएकालाई कम्तीमा दस दिन होम क्वारेन्टाइनमा बस्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।

भारतको महाराष्ट्र, दिल्ली, राजस्थानलगायत राज्यमा कोरोना संक्रमण तीव्र भएको भन्दै त्यसको असर नेपालमा पर्न सक्ने भन्दै जिल्ला विपद् व्यवस्थापन समितिले उक्त निर्णय गरेको हो ।

भारतबाट आउजाउ हुने नाकामा हेल्थ डेस्क राखिएको छ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहितको टोली नाका–नाकामा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए । ‘काम गर्न गएका नेपाली नागरिकलाई दस दिन क्वारेन्टाइनमा बस्न भनिएको छ,’ उनले भने ‘दस दिनसम्म कुनै लक्षण नदेखिए बाहिर आउजाउ गर्न पाउनेछन् ।’

भारतबाट आएकालाई स्वास्थ्यकर्मीले नाकाबाट आउजाउ गर्नेलाई ज्वरो मापनलगायत स्वास्थ्य परीक्षण गरिने भएको छ । कोरोना संक्रमण फैलिए पालिकालाई क्वारेन्टाइनको व्यवस्था गर्ने भएकाछन् । मास्क अनिवार्य भनिए पनि कार्यान्वयन भने भएको छैन । नाकामा कडाइ गरिदै सर्वसाधारणलाई सचेत रहन निर्देशन दिएको सीमा सुरक्षा बल ३१ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर राउतले बताए ।

आठ वटा बीओपीलगायत साना नाकामा सशस्त्र प्रहरी परिचालन गर्नुका साथै सीमावर्ती हस्नापुरकटीमा सीसी क्यामेरा जडान गरिएको उनले बताए ।