
दुई गुटको द्वन्द्व
विकास योजनाबारे छलफल गर्न भन्दै बोलाइएको बैठकमा पार्टीभित्रको दुई गुटको भनाभन पनि मुखरित भएको थियो । बरिष्ठ नेता झलनाथ खनालले केही कुरा राख्छु भन्दै आफ्ना धारणाहरू राखेका थिए ।
खनालले पार्टी जेठ २ को पुरानै अवस्थामा फर्किनुपर्ने भन्दै त्यसपछि एकलौटी रुपमा भएका निर्णयहरु सच्याउन आग्रह गरेको एक सांसदले बताए । खनालले ‘मरेको संसद ब्यूँतियो, यसमा म माननीयज्यूहरुलाई बधाई दिन्छु’ भनेपछि प्रधानमन्त्री ओलीले प्रतिवाद गरे ।

‘संसद मरेको होइन, विघटनको कदम संवैधानिक थियो,’ प्रधानमन्त्री ओलीको भनाइ उधृत गर्दै स्रोतले भन्यो, ‘अदालतले आफ्नो ढंगले व्याख्या ग¥यो, त्यसलाई हामीले मानेको हो । तर, ताजा जनादेशमा जाने कदम संवैधानिक थियो ।’
संसदीय दलको बैठकमा तल फ्लोरमा रहेका सांसद घनश्याम भुसालले समय मागेर बोलेका थिए । उनले विगतका निर्णय सच्याउनुपर्ने भन्दै कडाइ पूर्व कुरा राखेको एक सांसदले बताए । दलको बैठकमा माधव नेपाल पक्षका सांसदहरु योगेश भट्टराई र गोकर्ण विष्टले पनि बोलेका थिए । उनीहरुले पार्टी अध्यक्ष ओलीलाई अभिभावकको भूमिका खेल्न आग्रह गरेका थिए ।
प्रधानमन्त्री ओलीले फागुन २८ गते भएका निर्णय र त्यसयताका कमिटीले गरेका निर्णयबाट पछि फर्कन सकिँदैन भनेर बैठकमा प्रस्ट पारेको विशाल भट्टराईले बताए ।
भट्टराईले प्रधानमन्त्री ओलीको भनाइ उधृत गर्दै भने, ‘संसदीय दलको विधानलाई केन्द्रीय कमिटीले अनुमोदन गरिसकेको अवस्थामा यही नै संसदीय दलको विधान हो । अपरिवर्तनीय र असंशोधनीय छैन । तर, अहिले नै संशोधन गर्ने अवस्था छैन ।’
गुटगत वा समूहगत रुपमा कुनै डिल गर्दैनौं । व्यक्तिगत रुपमा हरेकका गुनासा सुन्न तयार छौं भन्दै प्रधानमन्त्री ओलीले बैठकमा सहभागी भएकोमा माधव पक्षका सांसदहरुलाई पनि धन्यवाद दिए ।
बैठकमा प्रधानमन्त्रीले भने, ‘अब हाम्रो संसदीय दलको बैठक नियमित बस्छ, हामी सांसदहरुको क्षमता अभिवृद्धिमा ध्यान दिन्छौं ।
एमाले ब्युँतिसकेपछि माधव समूह बालुवाटार बैठकमा अनुपस्थित भएकोमा शुक्रबार पहिलो चोटि बैठकमा उपस्थित भएको हो । बैठकमा माधवकुमार नेपाल र भीम रावल भने उपस्थित भएनन् ।
