सार्वजनिक स्थलमा होली खेल्ने र मास्क नलगाउनेलाई कारवाही गर्ने

११ चैत्र २०७७, बुधबार २१:१७

काठमाडौं, । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थलमा होली खेल्न रोक लगाएको छ ।कोभिड–१९ संक्रमणको दर बढ्दै गएको अवस्थामा सार्वजनिक स्थलमा भेला भई होली खेल्न रोक लगाइएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

यस्तै सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्यका मापदण्ड पुरा नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने पनि प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो ।काठमाडौं उपत्यकामा बृद्धि भइरहेको संक्रमणको दरलाई न्यूनीकरण गर्नको निम्ति स्वास्थ्यका मापदण्डहरु अनिवार्य रुपमा पालना गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

यस्तै कोभिड रोकथाम तथा नियन्त्रणका लागि निर्माण गरिएका क्वारेन्टाइन, आइसोलेसन केन्द्रहरुको अवस्था के छ भन्ने सम्बन्धमा सबै स्थानीय तह मार्फत अनुगमन गरी तयारी अवस्थामा राख्ने निर्णय गरिएको पनि उहाँले बताउनुभयो ।

विद्यालय सञ्चालन भएको अवस्थामा विद्यार्थीहरुलाई अनिवार्य मास्क लगाउने व्यवस्था गर्ने, कक्षाकोठाको व्यवस्थापन सोही अनुसार गर्ने, सेनिटाइजर प्रयोग गर्ने, हात धुन लगाउने कुरालाई अनिवार्य पालना गर्ने व्यवस्था गर्न समेत अनुरोध गर्नुभएको छ ।