
काठमाडौँ । सरकारको निर्णयानुरुप कोरोनाको खोप लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) चीनको राजधानी बेइजिङ जाने भएको छ । कोभिड–१९ लगायतका अत्यावश्यक कोरोना खोप लिन निगमको वाइड बडी ए ३३० जहाजले चीनको ‘बेजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थल’मा यही चैत १५ गते उडान भर्ने भएको हो ।
बेजिङबाट कोरोना खोप लिएर निगमको जहाज भोलिपल्ट राति(सोमबार) काठमाडौँ अवतरण गर्ने निगमको उडान तालिका रहेको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिए। यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत कोरोना खोपस्वीकार गर्ने निर्णय गरेको थियो ।
सो सरकारी निर्णयबमोजिम चीन सरकारले उपलब्ध गराउने वस्तुगत अनुदान स्वीकार गर्ने निर्णय भएअनुरुप आठ लाख मात्र कोभिडविरुद्धको खोपलगायत कोरोना खोपलिन निगमको जहाज बेइजिङ जाने तयारी भएको जनाइएको छ । बेजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थलबाट ढुवानी गर्न कलसाइन आरए ४२५१ द्वारा आइतबार काठमाडौं–बेइजिङ उडान गर्ने निगमको तयारीबमोजिम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग समन्वय भइरहेको पनि उनले जानकारी दिए ।
