पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम ठप्प

१० चैत्र २०७७, मंगलवार १६:४०

नवलपुर । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारकाे काम पुन ठप्प छ । शुक्रबारदेखि रोकिएको काम चार दिन बितिसक्दा पनि अझै सञ्चालन हुन सकेको छैन । मजदूरको पारिश्रमिक दुई महिनादेखि रोकिएको भन्दै निर्माण ठप्प पारिएको हो ।

आयोजनाले पारिश्रमिक दिन ढिलो गरेको जनाउँदै शुक्रबारदेखि नै मजदूरहरु निर्माण स्थलमा जान छोडेपछि सडक विस्तार ठप्प भएको हो । नारायणगढ–बुटवल सडक आयोजनाका प्रमुख रमेशकुमार दिष्टीले मजदूर सडक निर्माणमा नआउँदा काम ठप्प भएको जानकारी दिए । आयोजनाको खण्ड (क) को विभिन्न स्थानमा करीब ४०० मजदूरले सडक विस्तारमा संम्लग्न थिए । सो सडक विस्तार आयोजनाको काम मजदूरले दोस्रोपटक बन्द गरेका हुन् । यसअघि केही महिना पहिले ठेकेदार कम्पनीले श्रम कानूनअनुसार व्यवहार नगरेको भन्दै उनीहरुले हडताल गर्दा सडक विस्तारको काम प्रभावित बनेको थियो । एक हप्तापछि सम्झौता भएर पुनः अगाडि बढेको थियो ।

सरकारका तर्फबाट निर्माण कम्पनीलाई काम अनुसारको भुक्तानी नरोकेको आयोजना प्रमुख दिष्टीले बताए । सडक विस्तारको काम निकै कम भएकाले ठेकेदारले धेरै भुक्तानी दाबी गर्न नपाएको आयोजनाले जनाएको छ । निर्र्माण कम्पनीको आन्तरिक समस्या, साइट क्लियरेन्सका लागि स्वीकृति लगायतका कारण निर्माण थालेको दुई वर्षमा चार प्रतिशत मात्रै भौतिक प्रगति गरेका कारण सोही अनुसारको भुक्तानी गरिएको उनले बताए ।

ठेक्का सम्झौता भएर २०७५ साल चैत ८ देखि सो आयोजनाको निर्माण शुरुवात भएको थियो । आयोजनाको काम करीब ९६ प्रतिशत बाँकी हुँदा ठेक्का सम्झौताअनुसार अबको १८ महिनाभित्र निर्माणको काम पूरा गर्नुपर्ने हुन्छ । सरकारले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाउँदा गरिएको अनुमानभन्दा करीब २० प्रतिशत कममा ठेक्का हालेपछि आयोजनाको काम चाइना स्टेट इन्जिनीयरिङ कम्पनीले पाएको थियो ।

हतार हतार काम थालेको घोषणा गरिएको आयोजनाको साइट क्लियर नै नगरी ठेक्का निकालिएको बताइएको छ ।सडक विस्तारका क्रममा बाटोबाट उत्तरतर्फ पर्ने रूख कटानको काम भए पनि दक्षिणतर्फको रूख कटानमा समस्या देखिएको छ । दक्षिणतर्फ मध्यवर्ती क्षेत्रको वन पर्ने भएकाले रूख कटानमा समस्या उत्पन्न भएको आयोजनाका सूचना अधिकारी इन्जिनीयर कृष्ण आचार्यले जानकारी दिए ।

रूख कटानको स्वीकृति लिने सबै प्रक्रिया भइसकेको र स्वीकृति पाएपछि दक्षिणतर्फको रूख कटानको काम पनि अगाडि बढ्ने उनले बताए । रूख कटान भन्दा पनि सडक विस्तारका क्रममा सार्नुपर्ने विद्युतका पोलहरु समस्याका रुपमा देखापरेको आयोजनाले जनाएको छ ।

गैँडाकोट–दाउन्ने खण्डको ६५ किलोमिटरलाई खण्ड –क) तथा दाउन्ने–बुटवल खण्डको ५० किलोमिटरलाई खण्ड (ख) बनाएर निर्माणको काम भइरहेको छ । एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा विस्तार भएको आयोजनाको लागत रु १६ अर्ब ९९ करोड ५२ लाख छ । लागतको ८५ प्रतिशत रकम एडिबीले ऋण उपलब्ध गराउने र बाँकी रकम नेपाल सरकारकै लगानी रहने आयोजना प्रमुख दिष्टीले जानकारी दिए । अहिले दुई लेन रहेको नारायणगढ–बुटवल सडक खण्डलाई चार लेनको बनाउन लागिएको हो । दुई–दुई लेनका बीचमा ‘ग्रिनरी’ सहितको सडक निर्माण हुनेछ । यसमा फूल र साना बिरुवाहरु रोपेर सडकलाई सुन्दर बनाइने ढाँचामा छ ।

साढे तीन मिटरको बीच भागमा बिरुवा लगाइनेछ । हाल रहेको दुई लेनको सडक विस्तारपछि दुईतर्फ सात÷सात मिटरको हुनेछ । बजार क्षेत्रमा ६ मिटरको ‘सर्भिस लेन’ समेत निर्माण गरिनेछ । बजार क्षेत्रको २८ किमी सडकमा सर्भिस लेन निर्माण हुनेछ । दाउन्ने क्षेत्रमा भने तीन लेनको सडक निर्माण गरिनेछ । उकालोतर्फ चढ्ने सवारी साधनले प्रयोग गर्नेगरी दुई लेन र ओरालोमा झर्ने सवारी साधनले एक लेन प्रयोग गर्नेगरी तीन लेनको सडक निर्माण गरिने आयोजनाले जनाएको छ ।