सिलिन्डर पड्केर आगलागी हुँदा ६ जना घाइते

९ चैत्र २०७७, सोमबार १२:४६

काठमाडौं । सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरस्थित एक होटलमा ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा ६ जना घाइते भएका छन् । आइतबार साँझ शिवलाल कस्पालको चारतले घरको पहिलो तलामा सञ्चालित होटलमा ग्यास सिलिन्डर पड्किएको भक्तपुर प्रहरीले जनाएको छ ।

आगलागीमा परेर होटल सञ्चालक सूर्यविनायक–४ दधिकोट बस्ने टीकाराम बस्नेत, उहाँका आफन्त कोटेश्वर बस्ने राजेन्द्र कार्की र ३९ वर्षीया गीता कार्की घाइते भएका छन् । भने सेवाग्राहीहरू भक्तपुर, सल्लाघारी बस्ने १९ वर्षीय आदित्य सुवेदी, सूर्यविनायक नगरपालिका–५ कटुन्जेका १७ वर्षीय विकास पौडेल र १६ वर्षीय हिमुन्स थापा पनि घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइते सबैको कीर्तिपुरस्थित बर्न सेन्टर अस्पतालमा उपचार भइरहेको छ । आगलागीबाट दुईवटा फ्रिज, घरको ढोका र झ्याल जलेर नष्ट भएको छ ।