१६ लाख ज्येष्ठ नागरिकले लगाए कोरोना भाइरसविरुद्धको खोप

५ चैत्र २०७७, बिहीबार १७:२९

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप दोस्रो चरणमा १६ लाख ७३ हजार २२७ व्यक्तिले लगाएका छन् । दोस्रो चरणको पहिलो प्राथमिकतामा व्यक्तिमध्ये ७३ प्रतिशतले खोप लगाएका छन् ।

स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले ६५ वर्षभन्दा माथिका १६ लाख ७३ हजार २२७ ज्येष्ठ नागरिकले खोप लगाएको जानकारी दिए । सरकारले गत फागुन २३ गतेदेखि यही चैत ३ गतेसम्म दोस्रो चरणको खोप अभियान सञ्चालन गरेको थियो । दोस्रो चरणको पहिलो प्राथमिकतामा परेका २२ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्ने लक्ष्य राखिएको थियो ।

उनले खोप अभावका कारणले खोप अभियानलाई अहिलेका लागि स्थगन गर्नुपरेको जानकारी दिए । ‘हामी निरन्तर खोप अभियान गर्ने तयारीमा रहेका थियौं,’ उनले भने, ‘तर खोप अभाव भएपछि अहिलेका लागि अभियान स्थगन गरेका छौं ।’ विभागले ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरेपछि ५५ वर्ष भन्दामाथिका र दीर्घरोगीलाई खोप प्रदान गर्ने तयारी थालेको थियो । भारतस्थित सिरम इन्स्टिच्युट अझ इण्डियाबाट खरिद गरिएको १० लाख मात्रा खोप नआएपछि खोप अभियान स्थगन गरिएको हो ।