वीरगन्जसहितका नाका बिहीबारदेखि औपचारिक रुपमा खुल्ने

४ चैत्र २०७७, बुधबार १८:३८

वीरगन्ज ।  कोरोनाका कारण चैत १० गतेदेखि बन्द रहेका वीरगन्ज सहितका अन्तर्राष्ट्रिय स्थल नाकाहरु बिहीबारदेखि औपचारिक रुपमा खुल्ने भएका छन्। उपप्रधानमन्त्री ईश्वर पोखरेलले उच्चस्तरीय केन्द्रीय कोभिड-९ व्यवस्थापन केन्द्र (सिसिएमसी) को बिहीबार बैठक बसेर नाकाहरु खोल्ने निर्णय  गर्ने जानकारी दिएका हुन्।

यसअघि माघ ११ मा बसेको मन्त्रिपरिषदको बैठकले वीरगन्ज सहित दशेभरका ३० वटा स्थलनाका खोल्ने निर्णय गरेर माघ १५ गते जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरिएको जानकारी गराएको थियो। तर भारतबाट नेपाल प्रवेश गर्ने प्रमुख स्थल नाका वीरगन्जमा भने सरकारको निर्णय हालसम्म पनि कार्यन्यवनमा आएको छैन।

नाका पुर्ववत अवस्थामा नखुल्दा वीरगन्ज र यस आसपासका होटल र पर्यटन व्यसाय धराशायी भएका छन्। त्यसैले नाका खोल्न माग गर्दै होटल तथा पर्यटन व्यवसायी संघ पर्सा र पर्यटन पत्रकार संघ पर्साले बुधबार सिसिएमसीका संयोजक समेत रहेका उप्रप्रधानमन्त्री ईश्वर पोखरेललाई  ज्ञापन पत्र बुझाएको छ।

बुधबार मन्त्री निवासमै पुगेर दुबै संघले बुझाएको ज्ञापन पत्र बुझ्दै उपप्रधानमन्त्री पोखरेलले बिहीबार अपरान्ह ४ बजे बस्ने सिसिएमसीको बैठकले नाका खोल्ने निर्णय गर्ने आश्वासन दिएको होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले जानकारी दिए। पन्तले भने, ‘उपप्रधानमन्त्री ज्युले बिहीबार सिसिएमसिको बैठक बस्ने र बैठकले नाका खोल्ने निर्णय गर्ने आश्वासन दिनु भएको छ, त्यसैले अब नाका पूर्ववत अवस्थामै खुल्छ भन्ने विश्वास गरेका छौं।’

वीरगन्ज र यस आसपासका होटल तथा रिसोर्टहरु ७० देखि ८० प्रतिशत भारतीय पर्यटकको भारमा निर्भर रहेको भन्दै पन्तले भने, ‘तर कोरोनाका कारण चैत १० गतेदेखि बन्द सीमा नाका संचालनमा नआउँदा हाम्रो व्यवसाय चौपट भएको छ।’

त्यसैले नाका तत्काल खुला गरिदिन आग्रह गर्दै उपप्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको पन्तले बताए । वीरगन्ज क्षेत्रमा भारतीय पर्यटक भित्र्याउने लक्ष्यसहित गएको हप्ता मात्रै होटल तथा पर्यटन व्यवसायी संघ पर्साले  ‘पर्यटन पुनरुत्थानको लागि साझेदारी’ कार्यक्रमको घोषणा गरेको थियो। लामो समय सीमा नाका बन्द हुँदा वीरगन्जमा सञ्चालित होटलहरुको करिब सवा ६ अर्ब लगानी जोखिममा परेको होटल व्यवसायीहरुले बताएका छन्।

कोरोना भाइरसको संक्रमण बढेको भन्दै गएको वर्ष चैत १० गतेदेखि सरकारले सीमा नाका बन्द गराएको हो। भारत सरकारले आफ्नो तर्फको नाका कात्तिक ६ गतेदेखि नै खोलिसकेको भए पनि नेपाल सरकारले भने वीरगन्ज सहितका नाका अझै पनि औपचारिक रुपमा खोलेको छैन।

सरकारको निर्णयसँगै वीरगन्ज नाकामा भारतबाट मानिसको आउजाउ सुचारु भए पनि मालबाहक बाहेक अन्य सवारी साधनलाई सीमा खटिएका सुरक्षकर्मीले नााकमै रोकेर फिर्ता पठाइदिने गरेका छन्। जसका कारण भारतबाट नेपाल आउन चाहने भारतीय दशगजा क्षेत्रमै आफ्ना सवारी साधन थन्क्याएर पैदल वीरगन्ज आउजाउ गर्न बाध्य छन्।

माघ ११ गतेको सरकारको निर्णयपछि नाका खुलेको भनिए पनि अवस्था लकडाउनकै जस्तै विद्यामन रहेको पन्तले बताए। ‘एक त लकडाउनमा झण्डै ८ महिना यहाका सबै होटल बन्द नै भए, माघ ११ मा सरकारले  नाका खोल्यो भनेपछि व्यवसाय पुन लयमा फर्किन्छ भन्ने अपेक्षा थियो’, पन्तले भने,‘तर हालत उही लकडाउनकै जस्तै छ, भारतीय पर्यटक नआउँदा होटलको खर्च  धान्न पनि धौ धौ  छ।’

सरकारले नाका खोलिसकेको भने पनि नेपाल प्रवेश गर्ने झन्झटिलो प्रकृया र नाकामा खटिएका सुरक्षाकर्मीहरुले दु:ख दिने गरेका कारण भारतबाट पर्यटकहरु आउन नसकेको पर्यटन पत्रकार संघका सदस्य राधेश्याम पटेलले बताए।