सिन्धुलीमा पहिलोपटक जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता

४ चैत्र २०७७, बुधबार १७:०४

सिन्धुली ।  सिन्धुलीमा पहिलोपटक जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । शुक्रबारबाट जिल्ला ब्याडमिन्टन संघ सिन्धुलीको आयोजनामा जिल्ला स्तरिय मेयरकप ब्याडमिन्टन प्रतियोगिताको आयोजना हुने भएको हो । शुक्रबार र शनिवार संचालन हुने प्रतियोगिता मेन्स डबल ‘ए’, मेन्स डबल ‘बी’ र भेट्रान गरि तीन इभेन्टमा खेलाइने संघका अध्यक्ष मिनकुमार दाहालले जानकारी दिए ।

प्रतियोगिताका लागि कमलामाई नगरपालिकाले लाख ५० हजार रुपियाँ सहयोग गरेको छ । ‘प्रतियोगितामा मेन्स डबल ‘ए’ तर्फ प्रथम हुनेलाई ३० हजार र मेडल प्रदान गरिने छ । यस्तै, द्वितीयलाई २० हजार र मेडल एवं तृतीयलई १० हजार रुपैयाँ र मेडल प्रदान गरिने छ,’ दाहालले भने ।

त्यस्तै, मेन्स डबल ‘बी’ मा प्रथम हुनेलाई २० हजार नगद, मेडल र प्रमाणपत्र, दोस्रोलाई १० हजार नगद, मेडल र प्रमाणपत्र र तेस्रो बिजेतालाई पाँच हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।

यसैगरी, भेट्रान इभेन्टमा प्रथम बिजेतालाई २० हजार नगद, मेडल र प्रमाणपत्र, दोस्रो बिजेतालाई १० हजार नगद, मेडल र प्रमाणपत्र र तेस्रो बिजेतालाई पाँच हजार नगद, मेडल र प्रमाण पत्रको ब्यबस्था गरिएको छ । प्रतियोगितामा जिल्लाका ५० भन्दा बढी टिमको सहभागिता हुने बताइएको छ । प्रतियोगिताको उद्घाटन मेयर खड्गबहादुर खत्रीले गर्ने बताइएको छ ।