एकैपटक २८३ वटा पक्की सडक निर्माणको शुभारम्भ गर्दे ओली

१ चैत्र २०७७, आईतवार १३:५५

काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमको शुभारम्भ गरेका छन् ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटामा आयोजित विशेष समारोहकाबीच प्रधानमन्त्री ओलीले एकैपटक २८३ वटा स्थानीय तहका केन्द्र जोड्ने पक्की सडक निर्माणको शुभारम्भ गरेका हुन् । प्रदेशिक राजधानीसँग सडक सञ्जालले नजोडिएका २८३ स्थानीय तहलाई अगामी ५ वर्षभित्र जोडने गरी उक्त कार्यक्रमको शुभारम्भ गरिएको हो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालले अब विकासको गतिलाई तिब्र रुपमा अघि बढाएको र यो भौतिक विकासको माध्यमबाट सामाजिक विकास पनि सँगै हुने बताए । प्रधानमन्त्री ओलीले सडक निर्माणमा प्राविधिक र व्यवहारिक पक्षलाई सँगसँगै ध्यान दिन आग्रह गरे।

विकास मात्र नभइ दीगो विकासको मापदण्डलाई स्वीकार गरेर अघि बढ्न उनले निर्देशन पनि दिए । समृद्द नेपाल र सुखी नेपालीको सपनालाई साकार पार्न यो महत्वपूर्ण कार्यक्रम भएको उल्लेख गरे । त्यस्तै प्रधानमन्त्री ओलीले आफ्नो निजी स्वार्थलाई ध्यानमा राखेर विकासलाई छायाँमा पार्ने प्रवृत्तीको विरोध गर्नुपर्ने उल्लेख गरे । स्वार्थ पुरा गर्नका लागि जे पनि गर्न तयार हुने प्रवृतिलाई पनि अन्त्य गर्नुपर्ने उनको भनाई छ ।

सडक सञ्जाल निर्माणका लागि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार तीनै तहले संयुक्त लगानी गर्ने समझदारी यसअघि नै भइसकेको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम संघीय सरकारले यस वर्षका लागि ५ अर्ब रुपैयाँ विनियोजन गरेको छ । उक्त कार्यक्रमको कूल लागत भने करिव २ खर्ब लाग्ने अनुमान गरिएको छ ।