अमेरिकाले म्यान्मारका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमति दिने

२९ फाल्गुन २०७७, शनिबार १९:०३

काठमाडौँ। अमेरिकाले राजनीतिक संकटमा फसेको म्यानमारका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमति दिने भएको छ । सेनाले सत्ता हातमा लिएपछि आन्दोलन र अशान्ति भइरहेकाले त्यहाँका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमती दिएको अन्तराष्ट्रिय सञ्चारमाध्ययमले जनाएका छन् ।

सैन्य सत्ता विद्रोह र देश भित्र अशान्ति मच्चिएकाले देशका धेरै ठाउँमा मानवीय सङ्कट पैदा भएकोले मानवीय रक्षाका लागि अमेरिका बस्न अस्थायी अनुमति दिन लागेको अमेरिकाका गृहमन्त्री अलेजान्द्रो मायोर्कासले बताउनुभएको छ । यसरी बस्नेहरुलाई काम गर्ने अनुमति पनि दिइनेछ ।

आन्दोलन र अशान्तिका कारण कसैले म्यानमार छोडेर केही समयका लागि अमेरिका आउन चाहन्छन्, वा अमेरिकामा रहेका तर म्यानमार फर्किन चाहेका छैनन् भने उनीहरुलाई केही समय संरक्षकत्व दिन सकिने उहाँको भनाइ छ । यो व्यवस्था अस्ति विहिबारबाट आवातजावात गर्नेलाई लागु हुने छ ।

म्यानमारमा भएको सैन्य विद्रोहप्रति अमेरिका सहित विश्वका धेरै देशहरुले आपत्ति जनाउँदै लोकतान्त्रिक व्यवस्था कायम गर्न आह्वान गरेका छन् । डेढ महिनादेखि भइरहेको आन्दोलनका क्रममा अहिलेसम्म कम्तीमा ६० जनाको ज्यान गएको छ भने एक हजार आठ सय भन्दा धेरै पक्राउ परेका छन् । आन्दोलन आज पनि चलिरहेको छ ।