आज शिवरात्री, सुरक्षाका लागि पशुपतिमा सात हजार प्रहरी परिचालन

२७ फाल्गुन २०७७, बिहीबार ०८:५८

काठमाडौं । फागुन कृष्ण त्रयोदशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको पूजा–आराधना गरी देशभर मनाइँदै छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गरिरहेका छन् ।

पुराणहरूमा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिको महत्व वर्णन गरिएको छ । यी मध्ये पनि फागुन कृष्ण त्रयोदशीमा मनाइने शिवरात्रिको विशेष महत्व रहेको मानिन्छ ।

भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

यस पर्वका दिन उपवास रही रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।

यस दिन भगवान शिवलाई जाडो हुने जनविश्वासका कारण प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन छ ।

आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार वटै ढोका खोलिएका छन् भने दर्शनार्थीलाई पाँच वटा लाइनबाट मन्दिरसम्म पुग्ने ब्यवस्था मिलाइएको छ ।

पशुपति क्षेत्र बिकास कोषले यस बर्षको शिवरात्रीमा ३ लाख भक्तजनले दर्शन गर्ने अनुमान गरेको छ भने ७ हजार प्रहरी परिचालन गरिएको छ ।

साथै दर्शनार्थीको सहयोगका लागि ठूलो संख्यामा स्वयंसेवक, नेपाल प्रहरी र सशस्त्र प्रहरी सुरक्षामा खटाइएको छ । पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको छ ।

यसैबीच नेपाली सेनाले आज सेना दिवस मनाउँदैछ । यस अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिने छ ।

नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसको रूपमा मनाउँदै आएको छ ।