
विराटनगर । सर्वाेच्च अदालतको फैसलापछि उत्साहित बनेको नेकपा ओली समूहका कार्यकर्ताले विराटनगरमा नेकपा एमालेको कार्यालय स्थापना गरेका छन् ।सर्वाेच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँदाइदिएपछि सोमबार संस्कृति, पर्यटन मन्त्री भानुभक्त ढकालको उपस्थितिमा ओली समूहका कार्यकर्ताले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बोर्ड हटाएर नेकपा एमालेको मोरङ जिल्ला कार्यालय लेखिएको बोर्ड राखेका हुन् ।
विराटनगर महानगरपालिका–११ पाञ्चालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला कार्यालय थियो । नेकपा विभाजनपछि सो कार्यालयमा ओली समूहले गतिविधि गर्दै आएको थियो । एमाले र माओवादीको एकीकरण भएपछि मदन स्मृति भवनमा पार्टीको कार्यालय संचालनमा आएको थियो । तर, सोमबार मध्यान्नदेखि भने नेकपा एमालेको बोर्ड टांगिएको छ । त्यसयता नेकपा अध्यक्ष पुष्पकमल दाहालदेखि केपी ओलीसम्म यही भवनमा आएर कार्यक्रम सहभागी हुने गरेका थिए ।
