कांग्रेसका नेतालाई पौडेलले भने !स्वार्थमा नलागिदिनुस्-

२२ फाल्गुन २०७७, शनिबार १९:३८

 

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको पहिलो प्राथमिकता नियमित संसद् सञ्चालन भएको बताएका छन् । संसदीय प्रणालीको संरक्षक आफूहरु भएको भन्दै उनले संसदीय प्रणालीमा अवरोध आउनु आफूहरुको असफलता हुने उल्लेख गरे ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा वरिष्ठ नेता पौडेलले अरु आंकाक्षा नराखी संसद् बैठक सञ्चालनका विषयमा मात्रै कांग्रेस केन्द्रित हुनुपर्नेमा जोड दिए ।

‘‘संसदीय प्रणालीको संरक्षक हामी नै हौँ । संसदीय प्रणालीमा कुनै अवरोध आयो भने त्यो असफलता हाम्रो असफलता हो । त्यसकारण त्यो कुरा बुझेर हामीले संसदीय प्रणालीको डेडलकलाई हटाउने मात्रै कुरामा आफूलाई केन्द्रित गरौँ । हामीले त्योभन्दा बढ्ता आकांक्षा यो बेलामा राख्नु हुन्न भन्ने मलाई लाग्छ । अहिले हाम्रो सबैभन्दा पहिलो प्राथमिकता डेडलक हटाउनेतिर हो,’’ उनले भने, ‘‘आजैबाट सोचौँ । डेडलक भोलि नै हटाऔँ । अरु कुराको स्वार्थमा नलागिदिनुस् । किनभने, भविष्य हाम्रो हो । भविष्य लोकतन्त्रको हो । भविष्य लोकतान्त्रिक समाजवादको हो । कम्युनिस्ट फेल भइसकेका छन् । संसदीय व्यवस्थाविरुद्ध हतियार उठाउनेहरु एक एक गरेर असफल भएका छन् । तर, संसदीय व्यवस्थालाई क्षति पुर्‍याउने काम हामीले नगरौँ ।’’