
काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिग्रिएको कम्युनिष्ट भन्दै ‘कुहिएको अन्डा’ को संज्ञा दिएका छन् ।पार्टी कार्यालय पेरिसडाँडामा शनिबार आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कम्युनिष्टहरु बिग्रिए कामै नलाग्ने गरी कुहिएर जाने बताएका हुन् ।
माओले बिग्रिएका कम्युनिष्टलाई कुहिएको अन्डाको संज्ञा दिएको दृष्टान्त दिँदै अध्यक्ष दाहालले प्रधानमन्त्री ओली पनि ‘कुहिएको अन्डा’ भएको बताए । ‘एकपटक माओत्सेतुङले बिग्रेका कम्युनिष्टका बारेमा भन्नुभएको थियो । अन्डा स्वास्थ्यको लागि राम्रो कुरा हो । तर अन्डा कुहियो भने त्यो भन्दा गन्धा चिज अरु केही पनि हुँदैन । कम्युनिष्टहरु राम्रा हुन्छन् तर गन्हाउन थाले बिग्रिन थाले र कुहियो भने त्यो भन्दा नराम्रो कोही पनि हुँदैन । केपी ओली त्यही कुहिएको अन्डा हो,’ उनले भने, ‘कुहिएको गन्हाएको अन्डालाई खाइँदैन नि ! त्यसलाई गाडिन्छ या जलाइन्छ । तपाईं हामीचाहिँ स्वस्थ्यवर्द्धक जीवनशील तत्व हो । ’
उनले नेत्रविक्रम चन्द पनि आफ्नै बाटोमा आएकोमा खुसी हुँदै उनलाई स्वागत गर्न प्रतिक्षारत रहेको बताए । उनले भने,‘विप्लवजी पनि अन्तत्वगत्वा पार्टीकै बाटोमा, मैले कोरेकै गोरेटोमा आइपुग्नुभएको छ । यसअर्थमा म उहाँलाई पनि धन्यवाद भन्न चाहन्छु र छिट्टै यस्तै कार्यक्रममा उहाँलाई स्वागत गर्ने प्रतिक्षामा रहेको कुरा पनि घोषणा गर्न चाहन्छु ।
