स्वतन्त्रतामा नेपाल दक्षिण एसियाली मुलुकमा तेस्रो देश

२० फाल्गुन २०७७, बिहीबार १७:४८

काठमाडौं । नेपाल राजनीतिक तथा नागरिक स्वतन्त्रताको मामिलामा दक्षिण एसियाली मुलुकमा तेस्रो स्थानमा रहेको एक प्रतिवेदनले देखाएको छ । फ्रिडम हाउस नामक संस्थाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालले समग्रमा ५६ अंक पाएको छ । दक्षिण एसियामा नेपालभन्दा बढी स्वतन्त्रता भएका मुलुकमा भारत ६७ अंकसहित पहिलो स्थानमा छ भने भुटानको ६१ अंक छ । नेपाल र श्रीलंकाको समान अंक छ ।

दक्षिण एसियामा अफगानिस्तानको सबैभन्दा कम २७ अंक छ । पाकिस्तानले ३७, बंगलादेशले ३९ र माल्दिभ्सले ४० अंक पाएका छन् । नेपालले राजनीतिक स्वतन्त्रतातर्फ २५ र नागरिक स्वतन्त्रतातर्फ ३१ अंक पाएको छ । फ्रिडम हाउसले विश्वका विभिन्न २१० मुलुकमा गरेको अध्ययनबाट यो प्रतिवेदन तयार पारेको हो । त्यसका लागि विभिन्न माध्यमको प्रयोग गरी सम्बधित मुलुकको राजनीतिक तथा नागरिक स्वतन्त्रताको विषयमा अध्ययन गरिएको थियो ।