पूर्वी पहाडी जिल्ला पाँचथरमा चुनावी रौनक बढ्दै

४ मंसिर २०७४, सोमबार ०८:४२

मंसिर ४, पाँचथर ।
पूर्व पहाडी जिल्ला पाँचथरमा चुनावी चहलपहलको रौनक वढ्दै गएको छ । प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट एमाले नेता वसन्तकुमार नेम्वाङ तथा लोकतान्त्रिक गठबन्धनबाट कांग्रेस नेता भीष्मराज आङ्देम्बे चौथोपटक चुनावी मैदानमा उत्रिएका छन्।

यी दुई बलिया उम्मेदवारबीच पहिलोपटक एउटै चुनावी मैदानमा प्रतिस्पर्धा हुन लागेको हो ।  मतदाताहरुले आफूहरुलाई मतदिन विश्वास दुवै नेतामा रहेको छ । यसअघि दुई वटा निर्वाचन क्षेत्र रहेको पाँचथरबाट एमाले नेता नेम्वाङले दुईपटक चुनाव जितेका थिए भने कांग्रेस नेता आङ्देम्बेले चारपटक चुनाव लड्दा एकपटक मात्र जित्न सफल भएका थिए । अहिले एउटै चुनाव क्षेत्र भएपछि उनी एउटै मैदानमा चुनावमा प्रतिस्पर्धा गर्दैछन्। मंसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँचथरमा यी दुई प्रतिस्पर्धी दलका उम्मेदवार घरदैलो अभियानमा व्यस्त रहेका छन्। । मतदाताले भने घर घरमा आउने दलका नेता तथा उम्मेदवारसँग परिवारका सदस्यलाई जागिरदेखि पूर्वाधार निर्माण, शैक्षिक विकास र भरपर्दो स्वास्थ्य सेवासम्मका माग तेष्र्याएका छन् ।

एमालेका नेम्वाङले मुलुकमा आर्थिक समृद्धिको नेतृत्व गर्न वाम गठबन्धनको विकल्प नभएको बताउदै आएका छन् भने सडक, विद्युत, पुल, खानेपानी, सिँचाइ, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका विकास निर्माणका पूर्वाधारलाई उनले आफनो विकासे एजेण्डा बनाएका छन्। । पूर्व सांसद एवं एमाले ऊर्जा विभाग सचिव नेम्वाङले जलविद्युतको क्षेत्रमा लगानी गरेर पाँचथरका गाउँ र टोल -टोलमा उज्यालो पुर्याउने दावी गरेका छन् भने कांग्रेस केन्द्रीय सदस्य आङ्देम्बले जनताको सेवाकै लागि आफूले नेतृत्व लिन लागेको बताएका छन्। । त्यसैगरी संघीय समाजवादीका उम्मेदवार प्रेमराज लावती संविधान संशोधन, शान्ति, समृद्धि, विकास, परिवर्तन र अधिकारका निम्ति आफ्नो उम्मेदवारी दिएको वताएका छन् ।

यता वाम गठबन्धन दलबाट माओवादी केन्द्रका पाँचथर ९क का प्रदेशसभा सदस्य उम्मेदवार इन्द्र आङ्बो पनि अहिलेसम्मको उपलब्धि वामपन्थीको नेतृत्वमा भएकाले आर्थिक समृद्धि पनि वामपन्थीकै नेतृत्वबाट हुने दावी गर्छन्। । वाम गठबन्धनबाट पाँचथर ९ख का एमाले उम्मेदवार गणेश काम्बाङ पनि पाँचथरको समग्र विकासमा निष्ठापूर्वक काम गरेकाले आफूलाई जनताले निर्वाचित गराउने विश्वास व्यक्त गर्छन्। । त्यसैगरी लोकतान्त्रिक गठबन्धनबाट प्रदेश ९क का कांग्रेस उम्मेदवार नरेन्द्र केरुङ लोकतन्त्रमा मात्रै कृषि, सिँचाइ, पर्यटनको विकास, आत्मसम्मान र अधिकार सम्भव हुने भन्दै पाँचथरवासीले आफूहरूलाई नै नेतृत्व प्रदान गर्ने बताउँछन्। । कांग्रेसबाटै प्रदेश ९ ख का उम्मेदवार सुरेन्द्र दाहाल तमोर जलाशयुक्त जलविद्युत् आयोजना निर्माणमा पहल गर्ने बताउँछन्। ।