
काठमाडौँ। नेकपाको प्रचण्ड–माधव पक्ष र जनता समाजवादी पार्टी, नेपालका नेताहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
बिहीबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडाँमा नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठबीच छलफल भएको हो ।
छलफलमा आगामी दिनमा सहकार्य गरेर जानको निम्ति नेकपा प्रचण्ड माधव समूहले प्रस्ताव गरेको जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले बताए । छलफलमा जसपा नेताहरूले प्रचण्ड–माधव पक्षको पार्टी कुन हो स्पष्ट पार्नका लागि आग्रह गरेको पनि उनले बताए । आफूहरूले नेकपाको प्रस्ताव पार्टीको बैठकमा छलफल गर्ने बताएको पनि वरिष्ठ नेता महतोले बताए ।
‘कसरी अगाडि बढ्ने भन्ने कुरा गर्दै हुनुहुन्थ्यो । सहकार्य गर्न सकिन्छ की भनेर कुराहरू राख्नुभयो । हामीले के जिज्ञासा राख्यौँ भने तपाईंको कुन पार्टी हो ? पार्टी सिस्टममा पार्टी चाहियो । त्यो के हो ? अलमलमा पर्यो त्यो प्रष्ट हुनुस् र तपाईंहरूले राखेका सबै कुरा हाम्रो पार्टीको बैठकमा हामी राख्छौँ ।’
जसपा नेताले पटकपटक आफूहरूले गरेको सहमतीमा धोका खाएको पनि स्मरण गराएका थिए । जसपा नेताले आफ्नो पार्टीका सांसद रेशम चौधरी लगायतका नेता अझै पनि बन्दी जीवन बिताउनुपरेको भन्दै बन्दी रिहाइका लागि संघर्ष गरिरहने बताएका छन् ।
