कांग्रेसका सभापति देउवालाइ नेकपाको दुई समूहबाट विभिन्न प्रस्ताव आए

१३ फाल्गुन २०७७, बिहीबार १४:३१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाको दुई समूहबाट विभिन्न प्रस्ताव आएको बताएका छन् ।

अपराह्न ३ बजेका लागि बोलाइएको पदाधिकारी बैठक अघि सभापति देउवाले विहीबार(आज) विहान आफू निकटका नेताहरुसँग छलफल गरेका थिए ।

त्यस क्रममा सभापति देउवाले नेकपाको ओली पक्ष र प्रचण्ड–माधव पक्षबाट विभिन्न प्रस्तावहरु आएको ‘ब्रिफिङ’ गरेको छलफलमा सहभागी एक नेताले जनाकारी दिए ।

‘दुई समूहका तर्फबाट प्रस्तावहरु आएपनि कांग्रेसले सोचविचार गरेर निर्णयमा पुग्नुपर्छ’बैठकमा सहभागी ति नेताले देउवाको भनाइ उदृत गर्दै भने,‘नेकपा आधिकारिक रुपमा फुटेको छैन, हतार गरेर हुँदैन ।’

अब नेकपाका दुई समूह कसरी अघि बढ्छन् भन्ने महत्वपूर्ण भएको देउवाको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य एनपी साउदले सभापति देउवालाई आएका प्रस्तावहरु सार्वजनिक नै रहेको जनाए ।

प्रचण्डले सार्वजनिक रुपमा नै प्रस्ताव गरेको भन्दै उनले यसबारेमा सभापतिले सामान्य छलफल गरेको उनले बताए ।

सभापति देउवाले दुबै समूहबाट प्रस्तावहरु आइरहेको जानकारी दिएका थिए । दुबै समूहबाट प्रस्ताव आएको भएपनि पार्र्टी एकै रहेको देउवाको भनाइ थियो ।

‘नेकपाका दुईवटा समूहका गतिविधि हेरेर मात्रै कांग्रेस निर्णयमा जानुपर्छ भन्ने सभापतिजीको भनाइ रह्यो,’ उनले भने, ‘दुई समूह भए पनि नेकपा त एकै पार्टी छ ।’

हिजो पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले बुढानीलकण्ठ पुगेर सहकार्यको प्रस्ताव गरेका थिए । जवाफमा देउवाले पार्टीमा छलफल गरेर अघि बढ्ने बताएका थिए ।