१ अर्व ८ करोडको सुनको जलहरी राखियो पशुपतिनाथ मन्दिरमा

१२ फाल्गुन २०७७, बुधबार १७:१८

काठमाडौं। पशुपतिनाथ मन्दिरमा एक अर्ब आठ करोड रुपैयाँको सुनको जलहरी राखिएको छ ।

सुनको जलहरी राख्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएकै समयमा पशुपति क्षेत्र विकास कोषले जलहरी राखेको हो । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथमा क्षमापूजा गरेपछि मूल मन्दिरका भट्ट, पुजारी तथा कालिगढले जलहरी राखेका हुन् ।

पशुपतिनाथ मन्दिरको मुख्य शिवलिंगमा रहेको जलहरी जीर्णोद्धार जारी रहँदा राष्ट्रपति भण्डारी क्षमापूजाका लागि बुधबार पशुपति पुगेकी थिईन् । राष्ट्रपतिले क्षमापूजा गरेपछि सुनको जलहरी राखिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदिप ढकालले जानकारी दिए ।

जलहरी राख्नुअघि भारतबाट दर्जनौँ ब्राह्मण बोलाएर पूजा समेत गरिएको थियो । पशुपति मन्दिरको शिवलिंगमा १ सय ४१ किलो सुनको जलहरी राखिएको हो । जलहरी राखिएपछि कालिगढ, सुरक्षाकर्मीलगायतलाई सम्मान गरिएको थियो ।

सर्वोच्च अदालतमा पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध सोमबार छुट्टाछुट्टै दुई रिट निवेदन दर्ता भइसकेको छ ।

बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुंगानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष तथा कोषको सञ्चालक परिषद् र गुठी संस्थान केन्द्रीय कार्यालयलाई विपक्षी बनाई उक्त रिट निवेदन दायर गरेका हुन् ।