एकै परिवारका तीन जना मृत भेटिए

१० फाल्गुन २०७७, सोमबार १२:४६

गोरखा।  गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकमा एउटै परिवारका ३ जना मृत फेला परेका छन् ।

सोमबार बिहान मृत अवस्थामा ८४ वर्षीय बृद्ध डिलबहादुर गुरुङ, २१ वर्षीया आइतकुमारी गुरुङ र १३ वर्षीया बालिका उषा गुरुङ भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए ।

‘बिहान अबेरसम्म टिलबहादुरको घरमा चहलपहल नभएपछि स्थानीय गएर हेरेछन्, उहाँहरु तीनै जना सुतेकै ठाउँमा मृत अवस्थामा भेटिनुभयो,’ एसपी गुरुङले भने । घटनाको अनुसन्धान भइरहेको उनले बताए ।

अहिले घटनास्थलमा बारपाक प्रहरी चौकीबाट प्रहरी पुगेको छ । इलाका प्रहरी कार्यालय जौबारीबाट थप प्रहरी परिचालन गरी घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।