
काठमाडौँ। शेयर बजारमा बुधवार रू. ८ अर्ब ३ करोड ५५ लाख १० हजार बराबरको शेयर कारोबार भएको छ ।
कारोबारमा आएका अधिकांश कम्पनीको सेयर मूल्य घटे पनि सूचक भने ९ अंकले बढेर २६११ बिन्दुमा पुगेको छ । बजार सामान्य अंकले बढेको दिन समग्र बजार पुँजीकरण पनि करिब ३६ खर्ब रुपैयाँ पुगेको छ ।
सोमबार र मंगलबार करिब १० अर्ब रुपैयाँको सेयर कारोबार भएकोमा बुधबार भने आठ अर्ब रुपैयाँको मात्रै कारोबार भएको छ । सेयर बजारले दैनिक नयाँ रेकर्ड बनाइरहँदा लगानीकर्ताको आकर्षण भने बैंकतर्फ बढ्दै गएको छ ।
बजार अन्योल रहेको बेलामा सुरक्षित लगानीका लागि कम मूल्य भएका बैंकको सेयर सबैको रोजाइमा पर्न थालेको छ ।बुधबार २०३ कम्पनीको ७६ हजार ६३० पटकको व्यापारमा १ करोड ७६ लाख ८८ हजार २७१ कित्ता सेयर कारोबार भएको हो ।
सर्वाधिक कारोबार गर्नेमा आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले अग्रस्थानमा छ । आइतवारदेखि धितोपत्र दोस्रो बजारमा कारोबार सुरु गरेको कम्पनीको बुधवार सर्वाधिक रू. ६९ करोड ४३ लाख ६१ हजार बराबरको सेयर कारोबार भएको हो ।
सर्वाधिक रकमको कारोबार गरेको कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको सेयरमूल्यसमेत सर्वाधिक ९ दशमलव ९६ प्रतिशतले बढेको हो ।
