
काठमाडौं। अस्ट्रेलियामा फेसबुकले प्रयोगकर्ताहरूलाई आफ्नो प्लेटफर्ममा समाचारका सामग्री हेर्न र सेयर गर्न प्रतिबन्ध लगाएको छ । सामाजिक सञ्जाल जाइन्टले अस्ट्रेलियाका प्रयोगकर्ताले फेसबुकमा समाचार हेर्न वा सेयर गर्न नपाउने बनाएको बीबीसीले जनाएको छ ।
अस्ट्रेलिया सरकारले फेसबुकको यो कदमले कम्पनीको विश्वसनीयतालाई नै जोखिममा पारिदिएको बताएको छ । यति मात्र नभएर अस्ट्रेलिया बाहिरका मानिसहरूलाई समेत फेसबुकमा अस्ट्रेलियन न्युज प्रकाशकका सामग्री पढ्नबाट निषेध गरिएको छ । फेसबुकको यो प्रतिक्रिया वास्तवमा अस्ट्रेलिया सरकारले यसअघि जारी गराउने भनेको नयाँ प्राविधिक नियमका कारण छ ।
सअन्तर्गत फेसबुकले न्युज एजेन्सीहरूलाई तिनका सामग्री प्रयोग गरे वापत् निश्चित भुक्तानी गर्नुपर्ने भनिएको थियो । तर गुगल, फेसबुकजस्ता कम्पनीले सो नियममा इन्टरनेटले कसरी काम गर्छ भन्ने ध्यानमा नराखी प्रस्ताव गरिएको र अन्यायपूर्ण आफूहरूलाई नोक्सान पुर्याउने बताउँदै आएका छन् ।
अस्ट्रेलियामा आज बिहानदेखि स्थानीय तथा अन्तर्राष्ट्रिय समाचार संस्था वा वेबसाइटका फेसबुक पेजहरु ब्लक गरिएका छन् । यस्तै महत्त्वपूर्ण सरकारी निकायका फेसबुक पेजहरु पनि ब्लक भएका छन् ।
