गणतन्त्र धरापमा पर्ने सक्ने प्रचण्डको आशंका, ‘शहीदको बलिदानी पछि प्राप्त उपलब्धि नै गुम्ने खतरा’

१ फाल्गुन २०७७, शनिबार १६:५३

काठमाडौ। नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्र र संविधान नै धरापमा पर्न सक्ने बताएका छन्।

जनयुद्ध दिवसको अवसरमा काठमाण्डौमा शनिबार बारबर्दिया नगरपालिकाले आयोजना गरेको ‘जीवनगाथा’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले हजारौं शहीदको बलिदानी पछि प्राप्त उपलब्धि नै गुम्ने खतरा श्रृजना भएको बताएका हुन्।

भने, ‘यस्तो परिस्थितिमा यो जीवनगाथा आएको छ। कहीँ कतै संघीय गणतान्त्रिक लोकतन्त्र नै धरापमा जाने हो कि ? कहीँ हजारौ शहीदहरुले बलिदान गरेर रगतले लेखेको संविधान नै धरापमा पर्ने हो कि? भन्ने खतरा पैदा भएको बेला पनि छ। यस्तो बेलामा तपाईहरुले यो जीवनगाथा प्रकाशित गरेर बैधानिक ढंगले अगाडि ल्याउनुभयो। यसको विशेष अर्थ र महत्व नेपालको इतिहासमा रहनेछ। यसले हामीले रगत दिएर प्राप्त गरेको समावेशी लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता विषयहरुको रक्षाका निम्ति पनि यसले प्रेरणा दिनेछ।’

जनयुद्धमा शहीद भएका, ज्यान गुमाएका, बेपत्ता पारिएका तथा घाईते योद्धाहरुको जीवनगाथा सार्वजनिक गर्नका लागि जनयुद्ध सुरु गरेकै दिन रोजेकोमा उनले बारबर्दिया नगरपालिकालाई धन्यवाद पनि दिए। यस्तै प्रचण्डले यस किताबलाई सरकारका तर्फबाट वैधानिक ढंगले प्रकाशित भएको पहिलो ऐतिहासिक दस्तावेजका रुपमा व्याख्या गरे।

युद्धकालिन समयमा भएको बलिदानी संगै शान्ति सम्झौता, सेना समायोजन, हतियार व्यवस्थापनको साथै शान्ति सम्झौतालाई सफल पार्न आफुहरुले खेलेको भुमिका लगायत सबै काम युगान्तकारी भएको टिप्पणी उनले गरे। प्रचण्डले पार्टीको नेताको र युद्धको परिकल्पनाकारको हैसियतले आफुले उत्पीडीत समुदायहरुको विचार र उत्पीडनलाई उजागर गर्न भूमिका मात्रै खेलेको तर तात्कालिन विद्रोह उत्पीडीत समुदायको विद्रोह नै भएको बताए। उनले तात्किालिन समयमा थारु समुदायले खेलेको भूमिकाको पनि प्रशंसा गरे।

‘जीवनगाथा’ पुस्तकमा जनयुद्धको तयारीको क्रममा बारबर्दिया जिल्लामा शहीद, ज्यान गुमाएका, बेपत्ता पारिएका तथा घाईते योद्धाहरुको जीवनगाथा संग्रहित गरिएको छ। प्रकाशित जीवनगाथामा ६ सय ८० योद्धाहरुको जीवनी समेटिएको छ। ती मध्ये ३ सय २८ शहीद तथा मारिएका व्यक्तिहरु, २ सय ५० जना बेपत्ता पारिएका व्यक्तिहरु र १ सय २ जना घाईते तथा अपांङ्गता भएका व्यक्तिहरुको जीवनगाथा छ। बर्दिया जिल्लाका ६ वटा नगरपालिकाहरु बाँसगढी, बारबर्दिया, गुलरिया, मधुवन, ठाकुरबाबा र राजापुर समेटिएका छन्। त्यसैगरी बढैयाताल गाउँपालिका र गेरुवा गाउँपालिकाका ७५ वटा वडाहरुमा वडागत रुपमा जीवनगाथा श्रेणीबद्ध गरिएको छ। यसका साथै घटनाहरु बर्णानुक्रम अनुसार श्रृंखला मिलाएर राखिएको छ।