सरकारले २३ फागुनदेखि आम सार्वसाधारणलाई कोरोना खोप दिने तयारी

३० माघ २०७७, शुक्रबार १५:१६

 

काठमाडौं । भारतले १० लाख डोज खोप अनुदान दिएपछि १४ माघदेखि खोप अभियान सुरु भएको थियो । पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी लगायत ४ लाख ३० हजार फ्रन्टलाइनरलाई खोप लगाउने सरकारको लक्ष्य थियो । तर ११ दिनको अभियानमा देशभर एक लाख ८४ हजार ८ सय ५७ जनाले मात्र खोप लगाए ।

२६ माघदेखि ३० माघसम्म पत्रकार र कूटनीतिक नियोगमा कार्यरत कर्मचारीहरुलाई खोप दिइयो भने २ फागुनदेखि ८ गतेसम्म सरकारी कर्मचारी, बैंकका कर्मचारी स्थानीय तहका जनप्रतिनिधि, सीमा सुरक्षा पोष्टमा खटिएका कर्मचारी र पहिलो चरणमा जुटेकाहरुलाई कोरोना खोप दिइनेछ । यसका लागि स्थानीय पालिकासम्मै खोप केन्द्रहरु तय हुनसक्ने बताइएको छ ।

अब थप खोप आउन निश्चित जस्तै भएको भन्दै समुदायमा जाने योजना बनाइएको छ । फागुन २३ गतेदेखि ५५ बर्षमाथि उमेर समूहलाई खोप दिने योजनाअनुसार काम भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । ‘खोप आउने सुनिश्चितता भएकाले यस्तो तयारी गरेको हौं’ उनले भने, ‘हामी अन्तिम चरणको तयारीमा छौं ।’

स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाका प्रमुख डा. भीम सिंह तिंकरीका अनुसार खोप खरिद प्रक्रिया अन्तिम चरणमा पुगको बताउँछन् । ‘योजना अनुसार काम भयो भने हामीसँग भएको खोप नसकिँदै थप आउँछ’ उनले भने, ‘खोप आयातका लागि एकाध प्रशासनिक विषय मिलाउदैछौं । ’मन्त्रालयका स्रोत अनुसार भारतको सेरम इन्स्टिच्युटको कोभिसिल्ड खोप केही खरिद गरेर र केही अनुदानमा आउन लागेको छ । पहिलो चरणमा २० लाख डोज खोप ल्याउन कम्पनीका प्रतिनिधिसँग कुराकानी भइरहेको छ । ‘योजनाअनुसार काम भयो भने एक साताभित्रै खोप आउनसक्छ’ मन्त्रालय स्रोतले भन्यो ।