आमहड्तालमा क्षति पुर्‍याइएका सवारीसाधनको क्षतिपूर्ति सरकारले दिने

२३ माघ २०७७, शुक्रबार १५:१२

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिहीबार नेकपाको प्रचण्ड–माधव पक्षले गरेको आमहड्तालका क्रममा क्षति पुर्‍याइएका सवारीसाधन र प्रभावित भएका मजदुर–नागरिकलाई सरकारले क्षतिपूर्ति दिने घोषणा गरेका छन् । शुक्रबार नेकपाको ओली पक्षले राजधानीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उक्त पार्टीका सचिवालय सदस्यसमेत रहेका पोखरेलले भने, ‘देशव्यापी रुपमा आमहड्ताल गरियो, म नेपाल बन्द गराउने जनविरोधी कामको विरोध गर्दछु ।’ गरिखाने मजदूर तथा श्रमिक वर्गले बन्दका कारण व्यहोरेको क्षतिप्रति दुःख प्रकट गर्दै उनले उनीहरुलाई सरकारले उचित क्षतिपूर्ति दिने बताए ।

उनले जस्तै प्रतिकुलता आए पनि ती प्रतिकुलतासँग जुधेर राजनीतिक स्थायित्वका लागि लडिरहने संकल्प पनि गरे । ‘प्रधानमन्त्री केपी शर्मा ओलीको संकल्प अनुसार मुलुकमा राजनीतिक स्थिरताको कुरालाई निरन्तरता दिइरहने छौँ,’ उनले भने, ‘प्रधानमन्त्रीले आर्थिक विकास र समृद्धिको जुन सपना देख्नुभएको छ, जुन अभियान चलाउनु भएको छ, त्यसलाई हामी निरन्तरता दिनेछौं । संविधानको रक्षाका लागि निरन्तर लागिरहने छौँ ।’

उनले आफूहरुको लडाइँ अराजकता तथा मुलुकलाई आर्थिक समृद्धि र विकासमा लैजान नचाहनेविरुद्ध रहेको पनि प्रस्ट पारे । ‘हामी कुनै पनि बेला यो लडाइँलाई कमजोर हुन दिनेछैनौँ,’ उनले भने ।