पुष्पकमल दाहाललाई राष्ट्रपति विद्यादेवी भण्डारीले भेटीन्

३ मंसिर २०७४, आईतवार ०८:०२

मंसिर ३, काठमाण्डौं ।

पुत्र प्रकाश दाहालको निधनसंगै शोकमा रहेका पुष्पकमल दाहाललाई राष्ट्रपति विद्यादेवी भण्डारीले भेट गुर्नभएको छ । प्रचण्डलाई भेट्न राष्ट्रपति आफैं लाजिम्पाट पुग्नुभएको हो । झापामा रहनु भएका पुष्पकमल दाहाल प्रचण्ड छोराको निधनको खबर लगतै हेलिकोप्टरबाट काठमाडौं आउनुभएको हो ।

उहाँ अस्पताल नगई सिंधै निवास पुगेको समयमा राष्ट्रपतिले भेटेर समवेदना व्यक्त गर्नुभएको हो । दिवंगत प्रकाश दहालको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि माओवादी केन्द्रको कार्यालय कोटेश्वर पेरिसडाँडामा राखिएको छ। प्रचण्ड पुत्र प्रकाश दाहालको निधन भएको खबर पाएलगत्तै बिभिन्न राजनीतिक दलका नेताहरु चुनावी कार्यक्रम स्थगित गरेर नर्भिक अस्पतालमा भेला हुन थालेका छन् । प्रचण्डसँगै झापाको चुनावी कार्यक्रममा सहभागी एमाले अध्यक्ष केपी शर्मा ओली भने काठमाडौं आएका छैनन् । आइतबार काँकडभिट्टाको कार्यक्रम सकेर ओली सोमबार काठमाडौं आउने उनका सहयोगी चेतन अधिकारीले जानकारी दिए । प्रकाशको निधनको खबर सुनेलगत्तै नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई पनि गोरखाबाट काठमाडौंतिर लागेका छन् ।

शीर्ष नेताहरुमध्ये सबैभन्दा पहिले एमाले वरिष्ठ नेता झलनाथ खनाल नर्भिक अस्पताल परिसरमा देखिएका थिए । एमाले महासचिव ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठ पनि अस्पताल आएका थिए । कांग्रेसको तर्फबाट नर्भिक अस्पतालमा पुग्ने प्रकाशमान सिंह पहिलो नेता हुन् । बानेश्वरको थापागाउँमा आइतबार बिहान आयोजित घरदैलो कार्यक्रमलाई बीचमै रोकेर प्रकाशमान नर्भिक अस्पताल पुगेको उनका सहयोगी युपी लामिछानेले जानकारी दिए । सुरक्षाकर्मीहरुमार्फत् सिंहले दाहालको निधनको खबर पाएका थिए ।