सेयर बजारमा गिरावट

१८ माघ २०७७, आईतवार १६:५५

 

काठमाडौं । साताको पहिलाे दिन आइतबार सेयर बजार परिसूचक घटेको छ । आइतबार विहान कारोबार खुलेसँगै घट्न शुरु भएको बजार नेप्से परिसूचक ५४.७५ अंकले घटेर २ हजार ३ सय ७० दशमलव ५४ मा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ९.७३ अंकले घटेको छ भने नेप्सेमा कारोबार हुने सबैजसो सूचकमा गिरावट आएको छ ।

सबैभन्दा धेरै फाइनान्स समूह ४ प्रतिशत भन्दा धेरैले घटेको छ भने बैंकिङ र बिमा समूह पनि २ प्रतिशत भन्दा धेरैले घटेको छ । सबै सबइन्डेक्सनहरु घटे पनि प्रभु लाइफलगायतका कम्पनीहरुको सेयर मूल्य भने वृद्धि भएको छ । आइतबार दिनभर भएका ९६ हजार १ सय ५६ कारोबारबाट १ करोड ६२ लाख ७७ हजार २ सय ४५ कित्ता सेयर किनबेच भएका छन् । जसबाट ८ अर्ब ९७ करोड ३२ लाख ६ हजार ४ सय ५० रुपैयाँको कारोबार भएको छ ।